Listen LIVE

जिल्लास्तरीय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

नेपालगञ्ज : शिखा एकेडेमी कोहलपुरले नेपालगञ्ज पौडी क्लबको समन्वयमा आयोजना गरेको प्रथम शिखा जिल्लास्तरीय पौडी प्रतियोगिताको उपाधि आयोजकले नै जितेको छ ।

कोहलपुर–८ पिपरी (नयाँ बस्ती)स्थित शिखा एकेडेमीकोे पौडी पोखरीमा भएको प्रतियोगिताको २९ इभेन्टमा आयोजक शिखाले ६६ अंक ल्याएर उपाधि जितेको होे । नेपालगञ्जको स्प्रिङ डेल स्कुुल ४४ अंक ल्याएर दोस्रो र १७ अंक ल्याएर आदर्श माध्यमिक विद्यालय तेस्रो भएको छ ।

प्रतियोगितामा बाँके जिल्लाका १६ वटा विद्यालयको सहभागिता रहे पनि ७ वटा विद्यालयले मात्र स्वर्ण जितेका थिए । प्रतियोगितामा सर्वाधिक ५ वटा स्वर्ण पदकका विजेता सुशान्त बोहोरालाई सर्वोत्कृष्ट खेलाडी घोषित गरिएको थियो । खेलाडी बोहोराले आफूले स्पर्धा गरेका ५ वटै इभेन्टमा स्वर्ण पदक जितेका थिए ।

नेपाल पौडी संघ लुम्बिनी प्रदेशका उपाध्यक्ष सन्जय थापा, नेपालगञ्ज पौडी क्लबका अध्यक्ष केशव न्यौपाने, लुम्बिनी प्रदेश खेलकुद परिषद्का पूर्व उपाध्यक्ष नरेन्द्र थापा, विद्यालयका सिइयो डा.राजकुमार सुवेदी, पत्रकार शंकरप्रसाद खनाल, अतिरिक्त क्रियाकलाप संयोजक सूर्यमणि अधिकारीलगायतले विजेता खेलाडीलाई शिल्ड, मेडल र प्रमाण पत्र वितरण गरेका थिए ।

विद्यालयमा फुटसल शिलन्यास

शिखा एकेडेमीले विद्यालय परिसरमै फुटसल बनाउन सुरु गरेको छ । फुटसलको अन्तर्राष्ट्रिय मापदण्ड अनुसार २५ मिटर चौडाइ र ४२ मिटर लम्बाइको फुटसल निर्माण हुनेछ । कार्यक्रमका प्रमुख अतिथि नेपाल पौडी संघ लुम्बिनी प्रदेशका उपाध्यक्ष सन्जय थापा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपाल अधिकारीलगायतले संयुक्त रुपमा फुटसल भवनको शिलन्यास गरेका हुन् । विद्यालयमा फुटबल मैदान पनि रहेको छ ।

बाँके जिल्लामा सबैभन्दा धेरै क्षेत्रफल ५ बिघामा रहेको विद्यालयमा बास्केटबल, क्रिकेट, फुटबल मैदान पनि रहेको छ । विद्यालयका सिइयो डा.राजकुमार सुवेदीले गुणस्तरीय शिक्षाका लागि दैनिक ४ वटा विषय मात्र पढाउने गरेको बताए । उनले भने, ‘हामी विद्यार्थीलाई भार नपर्ने गरी पाठ्यक्रमको शिक्षा दिन्छौं । यसको अलावा विद्यार्थीको रुची अनुसार खेलकुद, गीतसंगीत, नृत्य र पब्लिक स्पिकिङ कला मार्फत उनीहरुको ज्ञान सीप र क्षमता विस्तारको काम गरिरहेका छौं ।’

प्रतिक्रिया