Listen LIVE

कैलाश मानसरोवर दर्शन गर्न जाने पर्यटकहरू बढ्दै

हुम्ला : पर्यटकीय सिजन सुरु भएसँगै हिमाली जिल्ला हुम्लाको सिमकोट विमानस्थल भएर हिल्सा हुँदै मानसरोवर कैलाशको यात्रा गर्ने पर्यटकको सङ्ख्या ३७ सयभन्दा बढी पुगेको छ । यस वर्षको मानसरोवर कैलाशको दर्शन गर्ने काम सुरु भएपछि भारतीय धार्मिक पर्यटकहरू हवाइ मार्गबाट आउन थालेपछि सङ्ख्या बढ्दै गएको हो ।

हालसम्म तीन हजार ७८० जना भारतीय पर्यटकहरु नेपालगञ्जबाट सिमकोटदेखि हिल्सा भएर चीनको ताक्लाकोटतर्फ मानसरोवर कैलाशको दर्शन गर्न जानेगरेको प्रहरी निरीक्षक विष्णु श्रेष्ठले बताए । यस वर्ष वैशाख ३० गतेबाट भारतीय पर्यटकहरू जिल्लामा आउन सुरु भएको हो । यो पर्यटक आगमन सङ्ख्या २३३ दिनको हो । 

हालसम्म हुम्ला आइ पुगेका भारतीय पर्यटकमा एक हजार ८९२ महिला  र एक हजा ८८८ जना पुरुष रहेका छन् । सिजन सुरु भएसँगै दैनिक ८० देखि दुई सय जना भारतीय पर्यटकहरू हवाई मार्गबाट हुम्ला आउने गरेका छन् । 

यसले गर्दा होटेल विजय, कैलाश, मानसरोवर, कर्णाली रिसोर्ट, हुम्ला रिसोर्ट, होटल पोतला, होटेल एलिस लगायतका होटलमा पर्यटकहरू भरिभराउ हुने गरेका छन् । यसबाट होटल व्यवसायीको आम्दानी पनि राम्रो हुन थालेको छ । यसैगरी सिमकोट विमानस्थलबाट होटेलसम्म पर्यटकका झोलाहरू बोक्ने कार्यमा ३० भन्दा बढी भरियाहरूले पनि काम पाएका छन् । 

सिमकोटका किसानहरूको तरकारीले पनि बजार पाउन सहज भएको छ । धेरै पर्यटकहरूको आगमन हुने भएपछि हाल नीजि एयरलाइन्स ताराको एउटा, सीताका दुई वटा र समिट एयरका तीन वटा गरी छ वटा जहाजहरूले बिहान सात बजेबाट बेलुका अवेरसम्म नेपालगञ्जबाट सिमकोटका लागि उडान भर्न सुरु गर्दे आएको नागरिक उड्डयान प्राधिकरण सिमकोट शाखाका प्रमुख महेन्द्र सिंहले बताए । त्यसैगरी छ कम्पनिका छ वटा हेलिकोप्टरले सिमकोट विमानस्थलबाट हिल्सा उडान भर्ने आएका छन् । 

हेलिकोप्टर बिहान साढे ६ बजेबाट बेलुका सात बजेसम्म उडान भर्ने काम गरी रहेका छन् । यस्तो पर्यटकहरूको चहल पहल सिमकोटमा मात्र नभएर दुई देशको सीमाक्षेत्र हिल्सामा पनि हुने गरेको छ । यसले गर्दा हिल्साका होटल व्यवसायी र भरियाहरूको पनि कमाइ राम्रो हुने गरेको उनको भनाइ छ । 

मानसरोवर कैलाशको दर्शन गर्ने समय सुरु भएपछि भारतीय पर्यटकहरू आउनेक्रम निक्कै बढेको कारण सिमकोट विमानस्थल बिहानबाट बेलुकासम्म निक्कै चहल पहल हुन थालेको प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीले बताए । 

उनले बिहान साढे ६ बजेबाट सिमकोटबाट पर्यटकहरू हिल्सा ओसार्ने हेलिकोप्टरहरूले उडान भर्न शुरु गर्ने उनको भनाइ छ । कतिपय बेला सिमकोट विमानस्थलमा ट्राफिक जाम पनि हुने गरेको छ ।

प्रतिक्रिया