रुकुमपूर्व : सिस्ने गाउँपालिका–१ र २ सँगै पुथाउत्तरगङ्गा गाउँपालिका–७, ८, ९ र १४ का स्थानीय बाह्र दिनदेखि डोरी र घाँसको सहारामा आउजाउ गर्न बाध्य भएका छन् । यही साउन १० गतेका दिन पहिरोले पदमार्ग बगाइदिएपछि यहाँका स्थानीय डोरी र घाँसको सहारामा आउजाउ गर्न बाध्य भएका हुन् ।
पुथाउत्तरगङ्गा–१४ र सिस्ने–२ को सिमाना पर्ने भालुखाप्चे भिरस्थित पदमार्ग पहिरोले बगाएपछि यस्तो अवस्था आएको हो । भालुखाप्चेदेखि सिस्ने–२, तिपतारा गाउँसम्म आउजाउ गर्ने पदमार्ग एउटा मात्र रहेको छ । यहाँ सडक सञ्जालको पहुँच अहिलेसम्म पनि पुगेको छैन ।
भालुखाप्चे भिरदेखि तिपतारा गाउँको दुरी करिब साढे दुई किलोमिटर रहेको छ । यो खण्डको पदमार्गमा तल सानीभेरी नदी र माथि पहराको भिरैभिर भएकाले एउटा मात्र पदमार्ग रहेको छ । उक्त पहराको बिच भागबाट एउटा पदमार्ग निर्माण गरिएको छ । उक्त पदमार्ग पनि अधिकांश ठाउँमा पहरामा फलाम ठोकी काठ बिछ्याएर बनाइएको छ ।
भालुखाप्चे भिरमा पनि फलाम ठोकी काठ बिछ्याएर पदमार्ग बनाइएको थियो । साउन १० गते पहिरोले उक्त पदमार्ग बगाएपछि आउजाउ गर्न अरू वैकल्पिक बाटो नभएको सिस्ने गाउँपालिका–२ का जीवन केसीले बताए । पहिरोले बगाएको ठाउँमै पुनः बाटो बनाउन सक्ने अवस्थाको नरहेको केसीले जानकारी दिनुभयो । माथिबाट निरन्तर पहिरो आइरहेकाले उक्त ठाउँमा बाटो निर्माण गर्न सक्ने अवस्था नरहेको उनको भनाइ रहेको छ ।
भालुखाप्चे भिरको सिधै तल सारै अप्ठ्यारो पहराको भिर छ । पदमार्ग बन्द भएदेखि दैनिक उपभोग्य सरसामान ओसारपसारका साथै बिरामी, वृद्धवृद्धा र बालबालिकालाई आउजाउ गराउन ठप्प भएको केसीले बताउए । केसीले भने, “पदमार्ग पहिरोले बगाएपछि जिल्लाको उत्तरी भेगका जनतालाई आउजाउ बन्द भएको सबैलाई थाहा नै छ तर सरकारी निकायबाट बाटो बनाउनेतर्फ ठोस ध्यान किन पुगेको छैन ।”
जिल्लाको विपत् व्यवस्थापन समितिमा दक्ष जनशक्तिसहितको संयन्त्र रहेको छ तर उक्त संयन्त्रबाट बाटो निर्माण गर्नेतर्फ किन ध्यान पुगेको छैन सारै दुःखको कुरा रहेको केसीले गुनासो गरे । बाटो निर्माण गर्नु पर्छ भन्ने कुरा सबै निकायबाट आडभरोसा त आइरहेको छ तर परिणाम निकाल्ने काममा सरकारको संयन्त्र पछि हटिरहेको केसीको भनाइ रहेको छ ।
सरकारी निकायबाट बाटो निर्माणका लागि तत्काल फिल्डमा नखटिएपछि सिस्ने–२ का स्थानीय बाटो निर्माण काममा लागेका छन् । आइतबारदेखि सिस्ने–२ का स्थानीय बाटो निर्माण कार्यमा लागेको अर्का स्थानीय खड्कबहादुर खड्काले बताए ।
जिल्ला सदरमुकाम रुकुमकोट साथै यस आसपासका ठाउँमा आउजाउ गर्ने बाटो नै नभएको खड्काले बताए । स्थानीय जनताले आफ्नो ज्यानको बाजी राखेर डोरी र घाँस समातेर भिरको बाटो वारपार गरिराख्नुभएको खड्काले बताए । वारपार गर्ने क्रममा डोरी र घाँस चुँडियो भने ज्यान गुम्ने सम्भावना छ । खड्काले भने, “हाम्रो सुरक्षाका लागि हामी आफैँ बाटो निर्माणमा लागेका छौँ ।” पहराको भिरको कारणले बाटो निर्माणमा सारै कठिनाइ भइरहेको खड्काले बताए । करिब चार सय मिटर पहराको भिर खनियो भने मात्र बाटो निर्माण हुने उनले बताए । सारै अप्ठ्यारो भिर रहेकाले बाटो निर्माण पनि डोरीको सहायताले काम गरिरहेका छन् ।
मुख्य पदमार्ग बन्द भएपछि नियमित गर्न पहल भइरहेको सिस्ने गाउँपालिका–२ का वडाध्यक्ष कृष्णबहादुर खड्काले बताए । तत्काल र सानो बजेटले उक्त पदमार्ग नियमित गर्ने सम्भावना नरहेको खड्काले बताउनुभयो । बाटो नियमितका लागि प्राविधिक सहयोगको साथमा ठुलो बजेटको आवश्यक रहेको वडाध्यक्ष खड्काले बताए ।
पदमार्ग अवरुद्ध भएदेखि ढुवानीका लागि खच्चड आउजाउमा बन्द भएदेखि भोकमरी हुने चिन्ता बढी रहेको वडाध्यक्ष खड्काले बताए । नुन, तेल र चामलको अभाव हुने सम्भावना रहेको उनले बताए । तत्कालै पदमार्ग नियमित गर्न नसकेमा केही दिनमा खाद्यान्न सामान अभाव हुने उनले जानकारी दिए । बाटो नियमितका लागि पालिका हुँदै प्रदेश र सङ्घलाई ध्यानाकर्षण गरिएको खड्काले बताए ।
प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माले जिल्ला विपत् व्यवस्थापन समितिले पहल गरिरहेको बताए । त्यस क्षेत्रको भूभाग सारै अप्ठ्यारो रहेकाले बाटो निर्माणका लागि कसरी जाने भन्ने विषयको पहिचान भइरहेको प्रजिअ शर्माले जानकारी दिए ।
यता सिस्ने गाउँपालिकाका अध्यक्ष कृष्ण रेग्मीले पदमार्ग नियमित गर्न पहल भइरहेको बताए । कडा पहराको भिरैभिर भएकाले कुन उपायमार्फत बाटो खुलाउने बन्नेमा छलफल भइरहेको अध्यक्ष रेग्मीले बताए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार