Listen LIVE

नेपालगञ्जमा लुम्बिनी स्पोट्र्स अवार्ड हुने

नेपालगञ्ज : खेलाडी र खेलकर्मीको योगदानलाई सम्मान गर्ने उद्देश्यसहित नेपालगञ्जमा पहिलो पटक लुम्बिनी स्पोट्र्स अवार्ड हुने भएको छ । 

रङ्गशाला नेपाल मिडिया प्रालिले आयोजना गर्न लागेको लुम्बिनी स्पोट्र्स अवार्ड आगामी मङ्सिर १८ गते हुनेछ । रङ्गशाला नेपाल मिडिया २०७३ साल जेठ १८ गते स्थापना भएको संस्था हो । रङ्गशाला नेपाल मिडिया प्रालीले सञ्चार र खेलकुदको क्षेत्रमा काम गर्दै आएको छ । 

अवार्डमा लुम्बिनी प्रदेश अन्तर्गतका जिल्लाका खेलाडी, खेलकर्मीले प्राप्त गरेका उपलब्धी र सफलतालाई आधार मानेर अवार्ड प्रदान गर्ने तयारी भैरहेको कार्यक्रम संयोजक चाहना शाहले बताए । 

उनले भने, ‘‘लुम्बिनी प्रदेश खेलकुदका क्षेत्रमा निकै सशक्त प्रदेश हो । तर यहाँ खेलाडी र खेलकर्मीको मनोबल बढाउनका लागि निकै थोरै कार्यक्रमहरु हुने गरेका छन् । हामीले खेलकुदमा आफनो जीवन समर्पण गरेका र खेलमा नयाँ सम्भावना देखेर मिहिनेत गरिरहेका खेलाडीहरुको हौसला बढाउन पनि यो अवार्ड कार्यक्रम गर्ने तयारी गरेका हौँ ।’’ 

अवार्डमा उत्कृष्ट पुरुष खेलाडी अवार्ड, उत्कृष्ट महिला खेलाडी अवार्ड, विशेष अवार्ड र उत्कृष्ट टिम अवार्ड प्रदान गरिने शाहले बताए । अवार्डसँगै पुरस्कृत हुनेलाई नगद र अन्य उपहार प्रदान गरिने आयोजकले जनाएको छ । 

लुम्बिनी स्पोट्र्स अवार्डलाई सफल बनाउनको लागि खेलकुदका निकाय, सङ्घ, विभिन्न कम्पनी, कर्पोरेट संस्थाहरुसँग सहकार्य गरेर कार्यक्रम आयोजना गरिने रङ्गशाला नेपाल मिडिया प्रालीले जनाएको छ ।

प्रतिक्रिया