Listen LIVE

‘बाँकेको राधापुरमा १४ महिलामा पाठेघर क्यान्सरको शंका’

नेपालगञ्ज : बाँकेको खजुरा गाउँपालिकाको वडा नम्बर १, राधापुरमा १४ महिलामा पाठेघर सम्बन्धी क्यान्सरको शंका गरिएको छ। राधापुर स्वास्थ्य चौकीमा आयोजित बृहत् स्वास्थ्य शिविरमा स्त्रीरोग विशेषज्ञ चिकित्सकहरूको टोलीले १४ महिलामा क्यान्सरको शंका (भिआईए) परीक्षण गर्दा यो समस्या देखिएको हो।

स्वास्थ्य परीक्षणमा सहभागी ५८ महिलामा नेगेटिभ परिणाम आएको खजुरा गाउँपालिकाको स्वास्थ्य र सामाजिक विकास शाखा प्रमुख लक्ष्मी केसी ओलीले जानकारी दिइन्। भेरी अस्पताल नेपालगञ्जकी वरीष्ठ स्त्रीरोग विशेषज्ञ डाक्टर उर्मिला पराजुली र प्राथमिक स्वास्थ्य केन्द्र खजुराका मेडिकल अफिसर डाक्टर अनिस रुचालको नेतृत्वमा यो परीक्षण गरिएको थियो। शंका लागेका महिलाहरूसँग परामर्श गरेर थप उपचारका लागि भेरी अस्पताल रिफर गरिएको छ।

शिविरमा उच्च रक्तचापका ८, मधुमेहका ३०, स्वासप्रस्वाससम्बन्धी समस्याका २, मृगौला समस्याका ५ र मुत्रनली संक्रमणका ६ जनासमेतको समस्या पहिचान गरिएको छ। निःशुल्क स्वास्थ्य शिविरमा १२० सर्वसाधारण महिलाले स्वास्थ्य जाँच, औषधि र परामर्श प्राप्त गरेका छन्।

खजुरा गाउँपालिकाले नसर्ने रोगहरूको पहिचानका लागि एक महिने अभियान सञ्चालन गर्दै फाल्गुन महिनामा जनचेतनामूलक कार्यक्रम र स्क्रिनिङ कार्यहरू सञ्चालन गर्दै आएको छ। यसमा विभिन्न विद्यालयमा विद्यार्थी लक्षित सचेतनामूलक कार्यक्रम आयोजना गरिने बताइएको छ।

प्रतिक्रिया