नेपालगञ्ज : डिभिजन वन कार्यालय बाँकेको सशस्त्र वन सुरक्षा शाखामा आठ जना सशस्त्र वन रक्षक छन् । उहाँहरु दैनिकरुपमा वन जङ्गलको गस्ती तथा सुरक्षाका साथै वन्यजन्तुको उद्धार र सुरक्षामा तैनाथ रहने गरेका छन् ।
“बाह्रै महिना हामी वन र वन्यजन्तुको सुरक्षा, संरक्षण र उद्धारमा खटिएका हुन्छौं, अरु महिनाभन्दा विशेषगरी बर्खाको समयमा बढीजसो सर्पको उद्धार गर्नुपर्ने हुन्छ” सशस्त्र वन रक्षक सुवेदार थीरबहानुर थापाले भने, “स्थानीयले वन कार्यालयमा खबर गरेपछि हामी उहाँहरुको घरसम्म दौडिहाल्छौं र वन्यजन्तुको उद्धार गर्छौं ।”
बिहीबार बिहान मात्र जिल्लाको जानकी गाउँपालिका –२ जलपोखरीबाट एकजना स्थानीयले वन कार्यालयमा फोन गरी आफ्नो घरमा सर्प रहेको र तत्काल उद्धार गरिदिन भनी जानकारी गराएका थिए । चार जना सशस्त्र वन रक्षकको टोली सो सर्पको उद्धार गर्न उक्त स्थानमा पुगे ।
“सर्पले आहारा खाएर गोठभित्र कुनामा गुइँठाभित्र बेरिएर बसेको रहेछ, अत्यन्तै खतरनाक र विषालु सर्प हो त्यो” उद्धारमा खटिएका हवल्दार रेशम गुरुङले भने, “त्यो सर्प रसियन भाइपर प्रजातिको रहेछ, अत्यन्तै विषालु हुन्छ, हामीले तत्काल सर्पलाई उद्धार गरी वन कार्यालयमा ल्यायौं ।”
सर्पका विभिन्न प्रजातिमध्ये रसियन भाइपर सर्प अत्यन्तै विषालु र खतरनाक हुने बताउँछन् निमित्त डिभिजनल वन अधिकृत टेक नेपाली । “हामीले धेरै प्रजातिका सर्प उद्धार गर्छौं, त्यसमा पनि यो रसियन भाइपर प्रजातिको सर्प अत्यन्तै विषालु हुन्छ, यसले मानिसलाई टोकेमा तुरुन्त उपचार नपाए मानिसको तत्काल ज्यान जान सक्छ” वन अधिकृत नेपालीले भने ।
सर्प झट्ट हेर्दा अजिङ्गरजस्तै देखिने हुँदा कतिपय स्थानीयले अजिङ्गरको बच्चा सम्झेर झुक्किने गरेको उनले बताए । “हेर्दा अजिङ्गरजस्तो देखिए पनि फरक हुन्छ, फरक छुट्टयाउन सक्नुपर्छ, अजिङ्गर हेर्दा खस्रो प्रकारको देखिन्छ भने यो सर्प चिप्लो खालको हुन्छ” उनले भने, “अजिङ्गरको टाउको ठूलो र चेप्टो प्रकारको हुन्छ, शरीरमा एकनासको निसान नभएर विभिन्न आकारका टाटेपाटे हुन्छ तर रसियन भाइपरको भने टाउको त्रिकोणात्मक आकारको र चुच्चो हुन्छ, शरीरमा गोलो–गोलो एकनासको निसान हुन्छ, अजिङ्गर सम्झेर चलाउने, नजिक जाने गर्नु हुँदैन तत्काल सम्बन्धित ठाउँमा खबर गर्नुपर्छ ।”
गत आर्थिक वर्षमा डिभिजन वन कार्यालय बाँकेले विभिन्न प्रजातिका ६३ वटा सर्पको उद्धार गरेको थियो । यस वर्षको साउन ३ गतेदेखि २४ गतेसम्ममात्र वन कार्यालयले सात वटा विभिन्न प्रजातिका सर्पको उद्धार गरिसकेको छ ।
वन कार्यालयले साउन ३ गतेका दिन नेपालगञ्ज १० गडियनपुरका एक स्थानीयको घरबाट गोमन सर्प उद्धार गरेको थियो । त्यसैगरी १० गते जानकी गाउँपालिका –२ बोगटियाबाट गोमन सर्प, १२ गते भेरी अस्पताल परिसरबाट करेत सर्प, १९ गते नेपालगन्ज ९ गोसाइगाउँबाट धामन सर्प, २० गते नेपालगञ्ज १ धम्बोझीबाट धामन सर्प, २२ गते कोहलपुरस्थित मदनचोक चन्नहवा गाउँबाट धामन सर्प र २४ गते जानकी २ जलपोखरीबाट रसियन भाइपर सर्पको उद्धार गरेको छ ।
सर्पको उद्धार गर्न सशस्त्र वन सुरक्षा शाखाका सशस्त्र वन रक्षक खट्ने गरेका छन् । बाँकेमा सशस्त्र वन रक्षक सुवेदार थीरबहादुर थापा, जमदार छेदुराज चौधरी, हवल्दार रेशम गुरुङ, सशस्त्र वन रक्षक बलबहादुर थापा, कालुराम विक, तेजबहादुर खत्री, भद्र रावल र रामसिं चौधरीको टोली खटिने गरेको छ । सो टोलीले विभिन्न प्रजातिका विषालु सर्पको उद्धार गर्दैआएको छ ।
सर्प उद्धारमा खटिने सशस्त्र वन रक्षकहरु तालिम प्राप्त तथा लामो अनुभवन भएका र आवश्यक उपरकरण उपलब्धताका कारण हालसम्म कुनै जोखिममा नपरेको वन कार्यालयले जनाएको छ । वन कार्यालयका अनुसार उद्धार गरेर ल्याइएका सर्पलाई विभिन्न राष्ट्रिय वन तथा बाँके राष्ट्रिय निकुञ्जभित्रको जङ्गलमा लगेर व्यवस्थापन गर्ने गरिएको रक्षकहरुको भनाइ छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार