Listen LIVE

रोल्पाको गाममा सेनाको निःशुल्क स्वास्थ्य शिविर

रोल्पा : जिल्लाको दुर्गम क्षेत्र पूर्वी रोल्पाको गाम गाउँमा रोल्पास्थित नेपाली सेनाको बटुक दल गणले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

विकट मानिएको सुनछहरी गाउँपालिका–३ मा पर्ने बाहिरी गामको प्राथमिक स्वास्थ्य चौकीमा फागुन २४ मा शिविर सम्पन्न गरिएको हो ।

सेनाको १९ नम्बर बाहिनी अड्डाको नेतृत्व तथा बटुक दल गण र १९ नम्बर बाहिनी अन्तर्गत फिल्ड एम्बुलेन्स गुल्मको समन्वयमा उक्त शिविर आयोजना गरिएको बटुक दलका गणपति प्रमुख सेनानी बिकेसिंह विश्वकर्माले बताए । उनका अनुसार उक्त स्वास्थ्य शिविरबाट १ सय ६५ जना महिला र ८० जना पुरुष गरी २ सय ४५ जना स्थानीय लाभान्वित भएका छन् ।

शिविरमा बिरामीको जाँच गर्नुका साथै औषधि वितरण, ल्याब सेवा र मुटु सम्बन्धी जाँच गर्ने इसिजी सेवा प्रदान गरिएको थियो ।

उक्त शिविरमा नेपाली सेनाका २ जना चिकित्सक र गामस्थित स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीबाट स्वास्थ्य परीक्षण एवं स्वास्थ्य सेवा प्रदान गरिएको थियो । दुर्गममा रहेका स्थानीय सर्वसाधारणसँग भेटघाट गर्न र समस्या बुझ्न दाङ तुलसीपुरस्थित १९ नम्बर बाहिनी अड्डाका बाहिनीपति सहायक रथी पदमबहादुर बुढा मगर आफै उपस्थित भएका थिए ।

गणपति विश्वकर्माले यसअघि थवाङमा पनि निःशुल्क शिविर सञ्चालन गरिएको बताए । जनतासँग सेना कार्यक्रम अन्तर्गत रोल्पाका दुर्गममा स्वास्थ्य शिविर सञ्चालन गर्नुका साथै शैक्षिक गतिविधि, खानेपानी सेवा, सडक निर्माण लगायतका क्षेत्रमा पनि सेनाले सघाउँदै आएको छ ।

प्रतिक्रिया