Listen LIVE

राप्तीसोनारी र नरैनापुरमा विद्युत सुचारु हुन सकेन

नेपालगञ्ज : राप्ती नदी तथा अन्य खोलामा आएको बाढीले विद्युत्का पोल र तार ढालेपछि बाँकेको राप्तीसोनारी र नरैनापुर गाउँपालिकाका दर्जन गाउँमा अवरुद्ध विद्युत् सेवा अझै सुचारु हुन सकेन । मर्मतसम्भारपछि केही गाउँमा विद्युत् सेवा नियमित भए पनि धेरै ठाउँमा सेवा नियमित हुन नसकेको जानकारी प्राप्त भएको छ ।

पानी घटेपछि मर्मतको काम सुरु गरिएकाले खोकरी, बक्सहवा, बसेरी र दुबेरी गाउँको विद्युत् सेवा नियमित भएको नेपाल कुसुम ग्रामीण विद्युत् सहकारी संस्था लिमिटेडले जनाएको छ । विद्युत् सहकारी संस्था लिमिटेडका अध्यक्ष देवबहादुर केसीले अझै पनि मर्मतको काम बाँकी रहेकाले सुनखरे र चुनाहा गाउँको विद्युत् सेवा नियमित हुन नसकेको बताए ।

नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले बाढी र वर्षाले पोल तथा तारमा क्षति भएपछि धेरै ठाउँमा विद्युत् सेवा अवरुद्ध भएको बताए  । उनले मर्मतसम्भारका लागि पटक पटक सम्बन्धित कार्यालयलाई आग्रह गरेपछि मर्मत कार्य सुरु गरिए पनि अझै धेरै ठाउँमा विद्युत् अनियमित नै रहेको बताए ।

राप्तीसोनारी र नरैनापुरका विभिन्न स्थानमा पनि पोल र तारमा क्षति पु–याएपछि सो क्षेत्रका दर्जनभन्दा बढी गाउँको विद्युत् सेवा अवरुद्ध भएको थियो । सो सहकारी संस्थाले राप्ती नदी पार गरेर सौरी–भम्का, बैरिया–अमुवा, बाँसखोली–भवानियापुर, बाघखोर–सुनखरे, चप्परगौडी–चुनाहा र लौकी–खोकरी गरी विभिन्न छ स्थानबाट विद्युत् सेवा विस्तार गरेको छ ।

उक्त समस्याको दीर्घकालीन समाधान गरिदिन स्थानीय बासिन्दाले सङ्घीय, प्रदेश र स्थानीय सरकार तथा जनप्रतिनिधिसँग माग गर्दै आएका छन् ।

प्रतिक्रिया