नेपालगञ्ज : नेपालगञ्ज–१२, कोरियनपुरमा चैत १४ गते राति जलेको अवस्थामा भेटिनुभएकी सिर्जना बुढामगरको मृत्यु जलनकै कारण भएको पोस्टमार्टम रिपोर्टले देखाएको छ ।
भेरी अस्पतालमा गरिएको पोस्टमार्टम रिपोर्टमा सिर्जनाको मृत्यु जलनकै कारण भएको उल्लेख भएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपक पातलीले जानकारी दिए ।
चैत १४ गते राति करिब १२ बजेको समयमा कोरियनपुरमा सिर्जना आगोले जलेको अवस्थामा भेटिएको र उपचारका लागि भेरी अस्पतालमा लगेपछि उनको १५ गते बिहान १ः२० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
æपोस्टमार्टम रिपोर्टमा मृत्युको कारण जलन नै हो भनेर आएको छ । अब मृत्युबारे थप अनुसन्धानका लागि सहज भएको छ । यद्धपि को कसको कस्तो संलग्नता छ भन्ने कुरा अनुसन्धान पूरा भएपछि मात्रै भन्न सकिने हुन्छ,Æ प्रनाउ पातलीले भने ।
नेपालगञ्ज–८, रानीतलाउमा डेरा गरी बस्दै आएकी सिर्जनाको शरीर उनीसँग लिभिङ टुगेदरमा बस्दै आएका आरिफ ढपालीको घरबाट करिब पचास मिटरको दूरीमा आगोले जलेको अवस्थामा भेटिएपछि आफन्तले आरिफलगायत उनका परिवारका सदस्यविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएका छन् । घटनापछि भागेर भारत पुगेका आरिफलाई प्रहरीले घटना भएको अर्को दिन नै पक्राउ गरिसकेको छ । आरिफसँगै उनकी आमा र दिदीलाई पनि प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको प्रनाउ पातलीले बताए ।
जाहेरीमा नाम उल्लेख भएका थप केही व्यक्तिको पनि खोजी भइरहेको उनले जानकारी दिए । सिर्जना र उनका प्रेमी भनिने आरिफ ढपालीको लिभिङ टुगेदर सम्बन्ध खटपटपूर्ण रहँदै आएको र आरिफले नै हत्या गरेको सिर्जनाका आफन्तले आरोप लगाउँदै आएका छन् ।
आरिफले पहिलेदेखि नै हिंस्रक व्यवहार देखाउने गरेकोमा आफन्तको भनाइ छ । सिर्जनाको मृत्यु भएको अघिल्लो दिन पनि सिर्जना र ती व्यक्तिबिच खटपट भएको र सिर्जनामाथि कुटपिट भएपछि उनले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि प्रहरीले ती व्यक्तिलाई हिरासतमा राखेको थियो ।
तर शनिबारै सिर्जनाले मिलापत्र गरी ती व्यक्तिलाई प्रहरीबाट छुटाएर लिएर आएको प्रहरीको भनाइ छ । तर मिलापत्र भएकै राति उक्त घटना भएको थियो ।
उक्त घटनापछि सिर्जनाका आफन्तले आरोपित ढपालीको घरमा आक्रमण गर्ने प्रयास गरेपछि प्रहरीले सुरक्षा दिनु परिरहेको छ । बुधबार पनि घरमा आक्रमण गर्न खोज्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएर एक पटकका लागि सम्झाइबुझाइ गरी छाडेको प्रनाउ पातलीले जानकारी दिए । मृतक सिर्जनाको शव भेरी अस्पतालमै राखिएको छ ।
घटनाको विरोधमा नेपालगञ्जमा दैनिकजसो विरोध प्रदर्शन र विरोध सभा हुँदै आएका छन् । घटनाको चौतर्फी निन्दासँगै दोषीलाई कडा कारबाही गर्नुपर्ने माग र दबाब बढ्दै गएको छ ।
विभिन्न सङ्घ संस्था र समूहले छुट्टाछुट्टै जिल्ला प्रशासन पुगेर बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङलाई ज्ञापनपत्र बुझाउँदै घटनाको निष्पक्ष अनुसन्धान र दोषीलाई कडा सजायको माग गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेले विभिन्न कोणबाट अनुसन्धान भइरहेको जनाउँदै विभिन्न सामाजिक सञ्जालमा समुदायबिच द्वन्द्व फैलाउने खालका टीकाटिप्पणी नगर्न र सञ्चारमाध्यमले समेत प्रहरीको सूचना अधिकारीबाट यकिन गरी सूचना सम्प्रेषण गर्न अनुरोध गरेको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार