नेपालगञ्ज : लुम्बिनी प्रदेशका १२ जिल्लामा एकै दिन एक लाख बढी विभिन्न प्रजातिका बिरुवा रोपिएको छ । राष्ट्रिय वृक्षरोपण दिवसका अवसर पारेर लुम्बिनीका १२ जिल्लामा एकै दिन एक लाखभन्दा बढी विभिन्न प्रजातिका बिरुवा रोपिएको हो ।
लुम्बिनी प्रदेश वन तथा वातावरण मन्त्रालयका योजना शाखा अधिकृत केशव खड्काले राष्ट्रिय वृक्षरोपण दिवसका अवसर पारेर शुक्रबार प्रदेशका १२ वटै जिल्लाका डिभिजन वन कार्यालयमार्फत विभिन्न प्रजातिका एक लाख पाँच हजार ५६२ बिरुवा रोपिएको जानकारी दिए ।
खड्काका अनुसार डिभिजन वन कार्यालय नवलपरासीमार्फत चार हजार पाँच सय, रुपन्देहीमार्फत २३ हजार २४०, पाल्पामार्फत १० हजार ६६१, गुल्मीमार्फत छ हजार ४३५, अर्घाखाँचीमार्फत दुई हजार ६३५, कपिलवस्तुमार्फत १२ हजार आठ सय र गौतम बुद्धमार्फत १९ हजार बिरुवा रोपिएको छ ।
डिभिजन वन कार्यालय दाङमार्फत दुई हजार ७८०, देउखुरीमार्फत ७५०, प्युठानमार्फत नौ हजार सात सय, रोल्पामार्फत १० हजार, रुकुमपूर्वमार्फत ७६०, बाँकेमार्फत दुई हजार ६७ र बर्दियामार्फत २१० बिरुवा रोपिएको खड्काले बताए । जिल्लास्थित डिभिजन वन कार्यालयमार्फत बिरुवा वितरण गरेर जिल्लाका विभिन्न सामुदायिक वन, तालतलैया तथा सार्वजनिक स्थानमा उक्त बिरुवा रोपिएको उनले जानकारी दिए ।
शाखा अधिकृत खड्काका अनुसार कागती, वीरेन्द्रफूल, अमला, धुपी, इमली, बकाइनो, आँप, लिची, बडहर, अशोक, टिक, चिउरी, खयर, तेजपात, निम, मसला, गुलमोहर, अर्जुन, मौवा, स्मार्ट नेपियर, अम्रिसो राइजोमलगायतका दर्जनौँ प्रजातिका बिरुवा रोपिएको हो ।
डिभिजन वन कार्यालय बाँकेका सहायक वन अधिकृत नवराज शाहीका अनुसार बाँकेमा भने सौन्दर्यीकरण बढाउन अधिकांश सौन्दर्यवर्धक बिरुवा रोपिएको छ । उहाँका अनुसार केही फलफूलजन्य बिरुवा रोपिए पनि अधिकांश गुलमोहरलगायतका सौन्दर्यवर्धक बिरुवा रोपिएको हो । बाँकेमा राप्तीपीडित सामुदायिक वन उपभोक्ता समूहको वन क्षेत्र, नेपालगञ्ज उपमहानगरपालिका–२२ स्थित कान्तिताल, जिल्ला प्रहरी कार्यालय परिसरलगायतका स्थानमा वृक्षरोपण गरिएको शाहीले जानकारी दिए ।
हरेक वर्ष राष्ट्रिय वृक्षरोपण दिवसका अवसर पारेर डिभिजन वन कार्यालयले सामुदायिक वन क्षेत्रका खाली ठाउँ, सार्वजनिक स्थल, विभिन्न सरकारी कार्यालयलगायतका स्थानमा लाखौँ बिरुवा रोप्दै आएको छ ।
डिभिजन वन कार्यालय र मातहतका सबडिभिजन वन कार्यालयको नर्सरीमा उत्पादन गरिएका बिरुवा रोप्ने गरिएको छ । यस वर्ष ‘भावी सन्तति र समृद्धिका लागि वृक्षरोपण गरौँ’ भन्ने मूल नाराका साथ वृक्षरोपण गरिएको हो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार