नेपालगञ्ज : सहरी क्षेत्रमा खाना पकाउन ग्याँस, हिटर, इन्डक्सनको अत्यधिक प्रयोग भइरहेपनि ग्रामीण भेगमा भने अझै पनि धेरै ठाउँमा दाउरा र गुइँठा प्रयोग गरी खाना पकाउने गरिन्छ ।
बाँके र बर्दिया जिल्लाको कतिपय स्थानीय तहमा अझै पनि खाना पकाउन गाई गोरु र भैँसीको गोबरबाट तयार हुने गुइँठा प्रयोग हुने गरेको छ । बाँकेको कोहलपुर नगरपालिका १४ को ग्रामीण क्षेत्र चिडिमार बस्तीका स्थानीयले अझैपनि गोबरमा भुस पराल मिसाएर घाममा सुकाएर बनाइएको गुइँठालाई नै इन्धनको रूपमा प्रयोग गर्ने गरेको स्थानीय ननकलि चिडिमारले बताइन् ।
उनले आर्थिक अवस्था कमजोर भएको र खाना पकाउने ग्याँसको मूल्य महँगो हुँदै गएसँगै काठ दाउरा समेत पाउन समस्या भएपछि विकल्पका रूपमा गुइँठाको प्रयोग गर्दै आएको बताइन् ।
यस्तै, राप्ती सोनारी ३ का हरि थापाले पनि खाना पकाउने ग्याँस अति नै महँगो हुनुका साथै गाउँ घरमा सहज रूपमा नपाइने हुँदा खाना पकाउन गुइँठा प्रयोग गर्ने गरिएको बताइन् । उनले चिसो मौसममा त गुइँठा प्रयोग गर्नेहरू अरू बेला भन्दा धेरै हुने गरेको बताइन् ।
चिसो मौसममा अधिकांश मधेसी समुदायका परिवारहरूले बढी गुइँठाको प्रयोग गर्ने गरेको पाइन्छ । सो समयमा मधेशी गाउँ बस्तीमा जाने हो भने घरको आँगन छाना अनि घरको भित्ता भित्तामा र खेतका गरामा गुइँठा सुकाएको देखिन्छ । चिसोको मौसममा इन्धनको रूपमा गुइँठाको प्रयोग गर्दा कोठा तातो हुने र आगोमा खाना समेत पाक्ने हुँदा ग्रामीण क्षेत्रमा बढी गुइँठा प्रयोग हुने गरेको डुडुवा कम्दीका रमेश यादवले बताए ।
उनले भने, ‘आर्थिक अभावका कारण ग्याँस चुलो र सिलेण्डर किन्ने, विद्युतीय सामग्री प्रयोग गरी खाना बनाउने अवस्था सबैको छैन । जसले गर्दा दाउरा र गुइँठाको धुवाँमा खाना बनाउनु पर्ने बाध्यता छ । धुवाँले गर्ने असरको बारेमा जानकारी नपाउँदा पनि वर्षौँदेखि गुइँठा र दाउराको प्रयोग भइरहेको छ ।’
अहिलेको अवस्थामा समेत दाउरा र गुइँठाको प्रयोग कम नहुँदा ग्रामीण क्षेत्रका महिला तथा बालबालिकामा दीर्घ रोगका समस्या देखिने जोखिम बढेको छ । खाना बनाउँदा प्रयोग गरिने गुइँठाबाट निस्कने धुवाँको कारण भान्सामा काम गर्ने महिला दिदिबहिनीहरुको स्वास्थ्यमा नकारात्मक प्रभाव पर्ने गरेको स्वास्थ्यकर्मीको भनाइ छ ।
धुवाँको कारण आँखा रातो हुने, दुख्ने, श्वासप्रश्वासमा समेत समस्या भएर ग्रामीण क्षेत्रबाट उपचारका लागि महिलाहरू अस्पतालमा आउने गरेको भेरी अस्पतालका सूचना अधिकारी डा. सङ्केत कुमार रिसालले बताए । उनले विपन्न समुदायका घरहरूमा बढी प्रयोग हुने गुइँठाका कारण महिला र बालबालिकाका आँखा र श्वासप्रश्वासमा समस्या हुने गरेको पाइएको बताए । (गोरखापत्रबाट)
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार