नेपालगञ्ज : नेपालगन्ज उपमहानगरपालिकाभित्र काम गर्ने सरोकारवालाहरुले वातावरण संरक्षणलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता गरेका छन् । विश्व वातावरण दिवसको अवसरमा नेपालगन्जमा सम्पन्न वातावरण संरक्षणका लागि सरोकारवालासँगको अन्तरक्रियामा सहभागीले यस्तो प्रतिबद्धता गरेका हुन् । युरोपियन युनियनको सहयोग, रेसटलेस डेभलपमेन्ट नेपाल, क्रियशन, यूथ इनोभेसन ल्यावको समन्वय र नेपालगन्ज उपमहानगरपालिकाको सहकार्यमा नाइस नेपालगन्जले गरेको अन्तरक्रियामा वातावरण संरक्षणका बिषयमा भएको छलफल पश्चात १२ बुँदे साझा प्रतिबद्धता गरिएको छ ।
नेपालगन्ज उपमहानगरपालिका वातावरण तथा विपद ब्यवस्थापन समिति संयोजक समिर प्रताप सिंहको अध्यक्षतामा भएको अन्तरक्रियामा वातावरण संरक्षणलाई प्राथमिकतामा राखेर काम गर्ने, वातावरण संरक्षणप्रति सचेत रहने, वातावरण संरक्षण सम्बन्धि नीति, नियम तथा निर्देशिकाहरुको निर्माण गरी प्रभावकारीरुपमा कार्यान्वयन गर्ने, वातावरण स्वच्छता र फोहोरमैला ब्यवस्थापनलाई प्राथमिकतामा राखी योजना तथा कार्यक्रम तयार गर्ने, नेपालगन्ज उपमहानगरपालिकालाई वातावरणमैत्री नगर बनाउन हरियाली प्रवर्द्धन, फोहोरमैला ब्यवस्थापन र प्लाष्टिकमुक्त अभियान सञ्चालन गर्ने, वातावरण संरक्षण सम्बन्धि नक्सांकन गर्ने, नेपालगन्ज उपमहानगरपालिकाभित्र काम गर्ने सरोकारवालाहरु र आमनागरिकहरु मिलेर समुदायस्तरमा संयुक्त सचेतनामूलक कार्यक्रम तथा अभियान संचालन गर्ने, वातावरण संरक्षण र हरियाली प्रबद्र्धनमा अब्बल काम गर्ने वडा, समूह, ब्यक्ति र संस्थालाई प्रोत्साहनस्वरुप सम्मान गर्ने, नेपालगन्ज उपमहानगरपालिकाभित्रका विद्यालयहरुलाई वातावरणमैत्री विद्यालय बनाउन पहल गर्ने र गराउने, नेपालगन्ज उपमहानगरपालिकाबाट उत्पादन भइरहेको फोहोरलाई रिसाइकल गरी चक्रीय अर्थ ब्यवस्था अनुरुप आयआर्जनमा रुपान्तरण गर्ने, वातावरण संरक्षणमा अवरोध सिर्जना गर्ने र गराउनेलाई कानुन बमोजिम कार्वाहीका लागि पहल गर्ने र नेपालगन्ज उमपहानगरपालिकाभित्रका २३ वटै वडामा बर्ष बिरुवा अभियान सञ्चालन गरी २०८१ मा कम्तीमा ८१ बिरुवा खाली रहेका र सार्वजनिक जमिनमा बृक्षारोपण गर्ने तथा त्यसको संरक्षण गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।
विभिन्न क्षेत्रमा कार्यरत सरोकारवालाहरुको सहभागिता रहेको अन्तरक्रियाको उद्देश्यमाथि नेपालगन्ज उपमहानगरपालिका वातावरण शाखा प्रमुख प्रकाश डिसीले प्रकाश पारेका थिए । अन्तरक्रियाको खुल्ला छलफलको शुरुवातमा विश्व वातावरण दिवसको नारा ’हाम्रो भूमि हाम्रो भविष्य’ र नेपालगन्ज उपमहानगरपालिकाभित्र वातावरण संरक्षणका मुख्य १० सवालहरु प्रस्तुतिकरण गरिएको थियो । प्रस्तुतिकरण गरिएका सवालहरुमा करीब २ घण्टा खुल्ला छलफल भएको थियो । खुल्ला छलफलमा सहभागीहरुले नेपालगन्ज उपमहानगरपालिकाको वातावरण संरक्षणमा सबै लाग्नुपर्नेमा जोड दिएका थिए । खुल्ला छलफलमा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ९ का अध्यक्ष गोविन्द रेग्मी, वडा नम्बर १३ का अध्यक्ष सुरेश सिंह ठाकुर, वडा नम्बर १० का कार्यवाहक अध्यक्ष भरत शाही, वडा नम्बर १२ का सदस्य सुशीला पन्त, गैसस महासंघ नेपालका केन्द्रीय सदस्य नमस्कार शाह, नेपालगन्ज नगरस्तरीय मेलमिलाप समिति संयोजक शिव कुमार बर्मा, बाँके जिल्ला साइकल संघका निवर्तमान अध्यक्ष गगन सिंह थापा, नेपालगन्ज उद्योग वाणिज्य संघका सदस्य विष्णु श्रेष्ठ, एचसीआरसी अस्पतालका निर्देशक रमेश सिटौला, मंगल प्रसाद माविका प्रधानाध्यापक सन्ध्या गुप्ता, फोहोरमैला ब्यवस्थापनमा कार्यरत संस्था समर्पण नेपालका अध्यक्ष मोहनलाल सोनखर, पत्रकार लक्ष्मी तिमिल्सिना, युवाहरु गणेश पौडेल, चन्द्रलाल जैसी, चिडिमार समाज विकास बाँकेका रामु चिडिमार लगायतले सुझाव राखेका थिए ।
अन्तरक्रियामा उठेका सवालहरुको जवाफ नेपालगन्ज उपमहानगरपालिका वातावरण तथा विपद ब्यवस्थापन समिति संयोजक सिंह, शिक्षा तथा खेलकुद शाखा प्रमुख उपसचिब गोर्ख बहादुर थापा, वातावरण शाखा प्रमुख डिसी, योजना शाखा प्रमुख तेजेन्द्र रोकाय, प्राविधिक शाखा प्रमुख भुपेन्द्रले बोहराले दिएका थिए । नाइस नेपालगन्जका सचिब कमल शाहीले सहजीकरण गरेको अन्तरक्रियामा स्वागत उपाध्यक्ष शोभा थापा मगरले गरेकी थिइन् । अन्तरक्रियामा गरिएका प्रतिबद्धताहरुमा कार्यान्वयनका लागि सबैलाई अनुरोध गर्दै कार्यक्रमको समापन वातावरण तथा विपद ब्यवस्थापन समिति संयोजक सिंहले गरेका थिए । अन्तरक्रियामा ४२ जनाको सहभागिता रहेको नाइस नेपालगन्जका अध्यक्ष हेमराज भट्टले बताए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार