नेपालगञ्ज : नेपालगञ्ज–गुलरीया सडक स्तरोन्नतिमा बजेट अभाव भएपछि निर्माणको काम प्रभावित भएको छ ।
हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगञ्ज र निर्माण कम्पनी शर्मा एण्ड शर्मा कम्पनीले आगामी दशैंभित्र बर्दिया सदरमुकाम गुलरियासम्म सडकको काम पूरा गर्ने लक्ष्यसहित काम गरिरहेको भए पनि निर्माण कम्पनीले समयमै भुक्तानी पाउन नसक्दा सडकको काम प्रभावित हुन पुगेको हो ।
हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगञ्जका प्रमुख लिलाबहादुर भण्डारीले भने, ‘राष्ट्रिय गौरवका आयोजनामा बजेट अभावमा निर्माण कम्पनीलाई भुक्तानी दिन नसक्दा काम नै प्रभावित हुन थालेको छ ।’ शर्मा एण्ड शर्मा कम्पनीलाई गत आवमा सम्पन्न भएको कामको करिब ४० करोड रुपियाँ चालु आवको साउनमा भुक्तानी दिइएको छ । करिब २८ करोड रुपियाँ भुक्तानी दिन बाँकी रहेको योजना कार्यालयले जनाएको छ ।
यो सडक खण्डको बाँके खण्डमा सडक कालोपत्रे भइसकेको छ । बर्दियामा पनि कलोपत्रेको काम जारी छ । पछिल्लो समय बजेट अभावले काममा सुस्तता आएको कार्यालयले जनाएको छ ।
समयमै बजेट भुक्तानी दिन सकेपछि गुलरियासम्म कालोपत्रेको काम सम्पन्न गरी नेपालगञ्जको नन्दीमिलदेखि धम्बोझी चोकसम्म बाँकी खण्डको काम सम्पन्न गर्न तयारी अघि बढाउने सोच रहेको योजना प्रमुख भण्डारीले बताए । धम्बोझीमा मानव बस्ती भएका कारण नन्दनी मिलदेखि सडकको काम सुरु गरिएको छ ।
शर्मा एण्ड कम्पनीले मूल्य अभिवृद्धि कर बाहेक दुई अर्ब ७८ करोड २९ लाख रुपियाँमा निर्माणको जिम्मा पाएको छ । ११.६ किलोमिटर चार लेन र १६.०२ किलोमिटर दुई लेन गरी २७.६२ किलोमिटर लामो सडक बिस्तार कार्य २०८२ मङ्सिर २७ गते तीन वर्षमा सम्पन्न हुनेगरी गतबर्ष माघ १५ गतेदेखि निर्माण कार्य सुरु भएको हो । यो सडक अन्तर्गत मानव वस्ती भएको स्थानमा चार लेन र सामान्य क्षेत्रमा दुई लेनको सडक बन्दैछ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार