बर्दिया : बर्दियाको मधुवन नगरपालिका–३ कोठियाघाटस्थित गेरुवा नदीमा गोहीको आक्रमणमा परेर एक महिलाको मृत्यु भएको छ ।
शुक्रबार दिउँसो करिब साढे २ बजे माछा मार्ने क्रममा गोहीको आक्रमणमा परेर सोही ठाउँकी करिब ५२ वर्षीया पुष्पा लामिछाने बेपत्ता भएकी थिइन् ।
नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरीलगायत स्थानीयले खोजतलास गरेका थिए । राति करिब साढे १० बजे लामिछानेको शव तैरिरहेको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय, राजापुरका डीएसपी होमप्रसाद चौधरीले बताए । लामिछानेको शव पोस्टमार्टम गरी परिवारलाई बुझाउने प्रहरीले जनाएको छ ।
उक्त घटना सदरमुकाम गुलरियाबाट २५ किमि पश्चिममा पर्छ । कोठियाघाटस्थित गेरुवा नदीमा ३/४ वटा गोही तैरिरहेकोले नुहाउन, माछा मार्न र दाउरा संकलन गर्न नजान प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ ।
2026-10-10
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार