Listen LIVE

बैजनाथद्वारा लुम्बिनी सरकारसँग विभिन्न योजना माग

नेपालगञ्ज : आर्थिक वर्ष २०८३/०८४ को बजेटमा बैजनाथ गाउँपालिकाका महत्वाकांक्षी विकास योजनाहरू समावेश गराउन गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाही र उपाध्यक्ष निर्मला रोकायको नेतृत्वमा जनप्रतिनिधिहरूको टोली लुम्बिनी प्रदेश सरकारका विभिन्न मन्त्रालयसँग माग गरेको छ ।

बैजनाथ गाउँपालिकाको समग्र विकासलाई गति दिने उद्देश्यसहित टोलीले १०० भन्दा बढी योजनाको सूची प्रदेश सरकारसमक्ष पेश गरेको जनाएको छ । सडक, पुल, तटबन्ध, सिंचाइ, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, खानेपानी तथा अन्य भौतिक पूर्वाधारसँग सम्बन्धित योजनाहरूलाई प्राथमिकतामा राखेर बजेट माग गरिएको हो ।

गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाहीले बैजनाथको आवश्यकता र नागरिकको मागलाई केन्द्रमा राखेर योजनाहरू तयार गरिएको बताउँदै प्रदेश सरकारसँग आवश्यक बजेट तथा कार्यक्रम सुनिश्चित गर्न पहल गरिएको जानकारी दिए । उनले स्थानीय स्रोतसाधनले मात्रै सबै विकासका आकांक्षा पूरा गर्न नसकिने भएकाले प्रदेश सरकारको सहयोग अपरिहार्य रहेको बताए ।

उपाध्यक्ष निर्मला रोकायले बैजनाथका सबै वडाबाट आएका प्राथमिकताका योजनाहरूलाई समेटेर प्रदेश सरकारसमक्ष प्रस्तुत गरिएको बताइन्। उनले विकास निर्माणका कामलाई तीव्रता दिन प्रदेश बजेटमा पर्याप्त योजना समावेश हुनुपर्नेमा जोड दिइन् ।

टोलीले लुम्बिनी प्रदेश सरकारका विभिन्न मन्त्रालयका जिम्मेवार पदाधिकारीसँग भेटघाट गर्नुका साथै भौतिक पूर्वाधार विकास मन्त्री तथा बाँके निर्वाचन क्षेत्र नम्बर ३ (क) का प्रदेशसभा सदस्य रत्न बहादुर खत्रीलाई समेत योजनाको विस्तृत सूची बुझाएको छ ।

डेलिगेसन टोलीमा आर्थिक विकास समिति संयोजक फरुदिन हलवाई, वडा नम्बर ६ का अध्यक्ष भुपाल पुन, वडा नम्बर ८ का अध्यक्ष भगन थारु, वडा सदस्यहरू तथा विभिन्न समितिका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

प्रदेश सरकारबाट आगामी बजेटमा बैजनाथका माग गरिएका योजनाहरू कति समावेश हुन्छन् भन्ने विषयलाई स्थानीयवासीले चासोका साथ हेरेका छन् । जनप्रतिनिधिहरूले भने बैजनाथको विकासका लागि आवश्यक बजेट र योजना सुनिश्चित गर्न निरन्तर पहल जारी रहने बताएका छन्।भौतिक पुर्वाधार मन्त्री खत्रीले आफुले सक्दो बजेटको ब्यवस्थापन गर्ने प्रतिबद्धता जाहेर गरेको सचिवालयले जानकारी दिएको छ ।

प्रतिक्रिया