नेपालगञ्ज : बाँकेको नौवस्तास्थित कारागारको सुरक्षा र व्यवस्थापनमा विशेष ध्यान दिएर कारागारलाई सुधारगृहका रूपमा रूपान्तरण गर्नुपर्ने सुझाव सहितको प्रतिवेदन सार्वजनिक गरिएको छ ।
एड्भोकेसी फोरम नेपाल र नेपालगन्ज उच्च बार एसोसिएसनको संयुक्त टोलीले सो कारागारको स्थलगत अनुगमनपछि तयार गरिएको प्रतिवेदनमा सो सुझाव दिइएको हो ।
सो कारागारमा रहेका कैदीबन्दीबिच बेला–बेलामा झडप र विवाद हुने गरेकाले केही दिनअघि भएको विवादलगत्तै नेपालगञ्ज उच्च बारसँगको समन्वयमा एड्भोकेसी फोरम नेपालले कारागार कार्यालय नौवस्ता, बाँकेको स्थलगत अनुगमन गरेको थियो ।
संयुक्त अनुगमन टोलीले तयार गरेको प्रतिवेदनमा गत जेठ १६ गते कारागारभित्र कैदीबन्दीबिच भएका झडप र त्यसपछिको परिस्थितिको अध्ययन गर्नुका साथै कैदीबन्दीका गुनासा, समस्या र न्यायमा पहुँचको अवस्थाबारे जानकारी सङ्कलन गरिएको एड्भोकेसी फोरम नेपालका लुम्बिनी प्रदेश संयोजक अधिवक्ता वसन्त गौतमले जानकारी दिए ।
उनका अनुसार सो कारागारलाई सजाय भुक्तान गर्ने ठाउँ मात्र नबनाइ सुधार गृहका रूपमा रुपान्तरण गर्दै सुरक्षा र व्यवस्थापनमा विशेष धयान दिएर जान सके मात्र कैदीबन्दीबिच विवाद नहुने र उनीहरूमा समेत सुधार आउने देखिएको छ ।
सोही कारणले उक्त कारागारलाई सुधार गृहका रूपमा रूपान्तरण गर्नुपर्ने सुझावसहितको प्रतिवेदन तयार पारिएको टोलीले जनाएको छ । जेठ १६ गते भएका घटनाको वस्तुस्थिति बुझ्न विभिन्न पक्षसँग तथ्य बुझी कैदीबन्दीलाई आवश्यक कानुनी परामर्श पनि प्रदान गरिएको संयोजक गौतमले बताए ।
अनुगमन टोलीमा रहनुभएका नेपालगञ्ज उच्च बार एसोसिएशनका सदस्य सुरेश गौतमले कारागारलाई सुधारगृहका रूपमा रूपान्तरण गरेर सुरक्षा र अन्य व्यवस्थापनमा ध्यान दिन सके मात्रै समस्या समाधान हुने देखिएको बताए ।
सो कारागारमा कुल ७३० पुरुष कैदीबन्दीसँगै आश्रित दुई जना बालबालिका समेत रहेका छन् । कारागार प्रशासनका अनुसार मुद्दागत आधारमा कैदीबन्दीको विस्तृत विवरणमा जबर्जस्ती करणीमा २२४, लागुऔषधमा १८३, कर्तव्य ज्यानमा १५३, चोरीमा २७, अपहरण तथा सार्वजनिक अपराधमा २२, विविध कसुरमा १८, डाँका चोरीमा १६, विभिन्न उद्योग मुद्दामा १६, सवारी ज्यानमा ११, ज्यान मार्ने उद्योगमा सात र हातहतियार तथा खरखजानामा दुई जना रहेका छन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार