नेपालगञ्ज : हरेक वर्षको वर्षामा राप्ती नदीले डुबान र कटान गर्दै आएको समस्या यस पटक बाँकेका मुख्य चुनावी मुद्दा बनेको छ ।
राप्ती नदी वरिपरिका गाउँघरका अधिकांश बासिन्दाले यस पटक डुबान र कटानलाई मुख्य चुनावी मुद्दा बनाएको जनाउँदै मत माग्न आउने उम्मेदवारसँग सो बारेमा सोधपुछ तथा गुनासो गरिरहेका छन् ।
बाँके निर्वाचन क्षेत्र नम्बर १ र २ मा पर्ने राप्ती नदीको कटान डुबान समस्यालाई चुनावी मुद्दा बनाएर स्थायी समाधानका लागि यस पटक विशेष ध्यान दिएको राप्ती सोनारी–७, खल्ला झगडियाका अरुण यादवले बताए ।
उनले हरेक जसो निर्वाचनमा आएर उम्मेदवारले डुबान कटान समाप्त पार्ने वाचा गर्ने तर समस्या समाधान नगरेको जनाउँदै यस पटक वास्तविक समस्या समाधान गर्नेलाई मात्र सहयोग गरिने बताए ।
निर्वाचन क्षेत्र नम्बर १ मा पर्ने खल्ला झगडियास्थित राप्ती नदीले बर्सेनि डुबान कटान गर्दै आएकोले सो क्षेत्रको सयौं बिघा जग्गा बगर बनेको छ । जहाँ सयौं परिवार विस्थापित भएका छन् ।
सोही प्रकारले क्षेत्र नम्बर २ अन्तर्गत डुडुवा गाउँपालिका–१, चौफेरीका बासिन्दा पनि वर्षौदेखि डुबान र कटानको समस्याबाट ग्रसित छन् । उनीहरूले हरेक निर्वाचनमा उम्मेदवारले डुबानबाट जोगाउने, राप्ती नदीमा तटबन्ध बनाउने र पुल समेत बनाउने आश्वासन दिँदै आए पनि आफ्नो समस्या उस्तै देखिएको छ ।
चौफेरी गाउँका रमेश यादवले हरेक वर्षायाममा बाढीले घर बगाउने, खेत डुबाउने र स्थानीयको भविष्य तहसनहस बनाउने गरेको गुनासो गर्दै आफूहरूले दशकौँदेखि यही नियति भोग्दै आएको दुखेसो गरे ।
उनले बाढीले बर्सेनि घरबार र जीविकोपार्जन नष्ट गर्दा पनि दीर्घकालीन समाधान हुन नसकेको बताए । यही क्षेत्रबाट निर्वाचित भएर प्रधानमन्त्रीदेखि मन्त्रीसम्म बनेका नेताहरूले पनि राप्ती नियन्त्रण र सुरक्षित बसोवासका विषयमा प्रभावकारी पहल नगरेको गुनासो चौफेरीका अर्का स्थानीय राम यादवको छ ।
सो क्षेत्रमा मत माग्न गएका क्षेत्र नम्बर २ का नेकपा एमालेका उम्मेदवार पूर्वमन्त्री मोहम्मद ईश्तियाक राई, नेपाली कम्युनिस्ट पार्टीका दीपेन्द्र विष्ट, नेपाली कांग्रेसका सुधान्सु कोइराला लगायतले यस पटक यो समस्या जसरी पनि समाधान गराउने प्रतिबद्धता गरेका छन् ।
स्थानीय सुनिता यादवले अब प्रतिबद्धता मात्र नभई ठोस कार्य योजना र काम गर्नेलाई मात्र रोज्ने निर्णय गरिएको बताइन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार