Listen LIVE

समीर भट्टलाई इण्डस्ट्रीले साथ नदिएको आरोप

काठमाण्डौ : फिल्म निर्माता तथा निर्देशक सन्तोष सेनले घरेलु फिल्ममा समीर भट्टको उदयलाई लिएर इन्डस्ट्रीले साथ नदिएको बताएका छन् । बुधबार भिडियो सन्देश जारी गर्दै उनले समीरको उदयलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग तुलना गरे ।

सेनले भने, ‘जसरी महानगरमा बालेनको उदय भएको थियो, त्यस्तै उदय समीर भट्टको हो । पूर्णरुपमा तयार भएर आएको थियो तर इन्डस्ट्रीको एकजनाले पनि उसलाई सपोर्ट गरेन ।’

समीरको आगमनलाई लिएर फिल्म उद्योगका कोही पनि खुसी नरहेको उनले बताए । ‘ऊ जसरी इन्डस्ट्रीमा तयार भएर आयो, यसप्रति कोही पनि खुसी छैनन्’ सेनले भने, ‘विराज भट्टजस्तो सुपरस्टारले आफ्नो छोरालाई १०–१५ वर्षसम्म तयार पारेर विश्व के हो भनेर हिंड्ने डुल्ने उमेरमा ट्रेनिङमा हालेर योद्धा बनाउनु चानचुने कुरा हो ? समीरलाई घुम्न मन थिएन होला र ?’

‘उसले दिनरात ट्रेनिङ गर्नुपर्ने केको लागि ? यहाँ त रिलिज भएको २–३ दिन भयो, सपोर्ट गर्ने कोही निस्किंदैन’ सेनले भने, ‘एउटा नवनायक आएको छ, इन्डस्ट्रीमा केही गर्छु भनेर । वेलकम र सपोर्ट गर्नुप¥यो । हामी सधैं पुरानै ढर्रामा रमाएर त हुँदैन ।’

उनले समीर भट्ट नेपाली फिल्मलाई विश्वमा चिनाउने कलाकार बन्ने दाबी गरे । ‘एउटा नयाँ अनुहार आएको छ, यसलाई कसरी ब्रान्डिङ गर्ने ? अब यो मान्छे भनेको नेपाली चलचित्र क्षेत्रमा मात्रै होइन । अब विश्वमा चिनाउने नयाँ नेपाली कलाकार एउटा मात्रै हुन्छ’ सेनले भने ।

नयाँ कलाकारलाई साथ दिंदा जुनसुकै फिल्मले राम्रो व्यापार गर्न सक्ने सेनको विश्लेषण छ । ‘अब नयाँ जो पनि आउँछ, कलामा मेहनत गरेर जो पनि आउँछ, हामी सबै मिलेर सपोर्ट गरौं । नयाँ नयाँ अनुहारबाट दर्शकलाई चलचित्र दिन सक्छौं’ उनले भने ।

जुनसुकै जनराको फिल्म भएपनि मेकरलाई मद्दतको जरुरी रहेको उनको भनाइ छ । ‘नयाँ र पुरानो पुस्तालाई सँगै मिलाएर जुनसुकै जनरा होस्, हामी सबै एक भएर सबै जनरालाई सपोर्ट गर्नुपर्छ’ सेनले भने, ‘दर्शकलाई फरक फरक स्वाद दिन सक्नुपर्छ । हामी सबैले समीर भट्टलाई साथ सपोर्ट दिऊँ । सबै फिल्मलाई साथ दिऊँ, गाली नगरौं । आम दर्शकलाई मेरो बिन्ती छ ।’

उनले झण्डै आधा घण्टा लामो उक्त भिडियोमा समीर अभिनित फिल्म ‘१२ गाउँ’बारे आफूलाई लिएर भइरहेका आरोपको खण्डन प्रयास समेत गरेका छन् ।

समीरले यतिबेला सन्तोषले निर्देशन गरिरहेको फिल्म ‘बलिदान’ छायांकन गरिरहेका छन् । यो फिल्मको दोस्रो चरणको छायांकन सुरु हुने तयारीमा छ ।सेनले चाँडै फिल्मको प्रदर्शन मिति तय हुने बताए ।

प्रतिक्रिया