Listen LIVE

मोहर्रम पर्व शान्तिपूर्वक सम्पन्न गर्न बाँके प्रहरी एक्शनमा

नेपालगञ्ज : नेपालगञ्जमा ट्राफिक नियम उलंघन गरी सवारी साधन चलाउनेमाथि प्रहरीले कारवाही शुरु गरेको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले मुस्लिम समुदायको पर्व मोहर्रममा कुनैपनि प्रकारको उच्छृङ्खल व्यवहार नगर्न, घरेलु हतियार लिएर नहिँड्न तथा सदभाव बिथोल्ने कुनैपनि गतिविधि नगर्न आग्रह गरेपछि जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय एक्शनमा उत्रिएको हो ।

नेपालगञ्जका विभिन्न स्थानबाट शनिवार राति ४२ वटा मोटरसाइकल नियन्त्रणमा लिइएको बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले जानकारी दिए । बढी सवारी वोक्ने, हेलमेट नलगाउने, होहल्ला गरी बाइक चलाउनेलाई नियन्त्रणमा लिइएको उनले बताए । उनीहरुलाई कानुन अनुसार कारवाही गरिने पनि डिएसपी डाँगीले बताए । मोहर्रमलाई लक्षित गरि ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको र त्योसँगै ड्रोन क्यामेरा मार्फत निगरानी भइरहेको छ,’ उनले भने ।

बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी जोरा सिंह माझीले मोहर्रम पर्वको बेला कसैले पनि उच्छृङ्खल व्यवहार गरेको, बिना काम राती हिँडेको, रड लगायतका घातक घरेलु हतियार लिएको र मोटरसाइकल तीव्र गतिमा चलाएको पाइएमा कानुनी कारबाही गर्ने चेतावनी दिएक छन् । 

उनले भने, ‘मुस्लिम समुदायको महान् पर्व मोहर्रम सुरुवात भइसकेको सन्दर्भमा धार्मिक र्याली तथा कार्यक्रमहरू सञ्चालन भइरहेको र यसलाई शान्तिपूर्ण ढङ्गबाट सम्पन्न गर्न जिल्लास्थित सुरक्षा संयन्त्र र सद्भाव समिति अहोरात्र खटिइरहेका छन् । पर्वको संवेदनशील क्षणमा राति अबेर बिना काम हिँड्ने मोटरसाइकल लगायतका सवारी साधन तीव्र गतिमा चलाउने, हातमा रड लगायतका घातक घरेलु हतियार प्रदर्शन गर्ने तथा बोकेर हिँड्ने कार्य नगर्न अनुरोध गर्दछौँ ।’

दस दिनसम्म मनाइने मोहर्रम पर्व अहिले बाँकेमा धूमधामका साथ मनाइँदै छ । सो पर्वको अवसरमा हरेक दिन राती जुलुसहरू निस्कने गरेका छन् । बुधवार अपराह्न अन्तिम जुलुसका साथ समापन हुने सो पर्वलाई शान्तिपूर्वक सम्पन्न गराउनका लागि नेपालगञ्जमा ठुलो संख्यामा सुरक्षाकर्मीहरू परिचालन गरिएको र सद्भाव समितिले पनि दिनरात काम गरिरहेको बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले बताए ।

उनले मोहर्रम शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सबैको सहयोग आवश्यक रहेको बताए ।

प्रतिक्रिया