काठमाण्डौ : राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री चीन भ्रमणमा जानुअगाडि सदनबाट राष्ट्रियताको सन्दर्भमा साझा अवधारणा बनाउन माग गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद गणेश पराजुलीले राष्ट्रको अखण्डता, सार्वभौमिकता र भौगोलिक स्वाधीनताको संरक्षणभन्दा ठूलो जिम्मेवारी कुनै पनि दल वा सरकारको हुन नसक्ने बताए ।
प्रधानमन्त्री चीन भ्रमणमा जानुअघि नै राष्ट्रिय सार्वभौमिकता र सीमा सुरक्षाको पक्षमा संसदबाट सर्वसम्मत साझा अवधारणा बनाउन उनले माग गरे । ’सोही आधारमा प्रधानमन्त्रीज्यूले छिमेकी दुवै मुलुकका राष्ट्राध्यक्षसँग केवल शिष्टाचार होइन, दृढ, परिणाममुखी र शान्तिपूर्ण तर कूटनीतिक प्रभावकारी संवाद गर्नैपर्छ,’ उनले भने ।
नेपालको भूभागमाथि अन्य राष्ट्रहरूले नेपालको प्रत्यक्ष सहभागिता र सहमतिबिना गर्ने कुनै सम्झौता वा गतिविधि वैधानिक हुँदैन, हुन नसक्ने उनको भनाइ छ । यस्तो कार्य आपसी सम्मान र शान्तिपूर्ण सहअस्तित्वको सिद्धान्तमाथि ठाडो प्रहार मात्र होइन, नेपालको राष्ट्रिय स्वाभिमानमाथिको धक्का भएको उनको भनाइ छ ।
’केही समय अगाडि भारत र चीनबीच नेपाललाई सहभागी नगराई लिपुलेक मार्ग प्रयोग गर्न गरेको समझदारी अन्तर्राष्ट्रिय कानुनकै दृष्टिले अवैध छ,’ उनले भने ।
अन्तर्राष्ट्रिय सीमा र राष्ट्रियताका मुद्दामा जनताले सरकारको स्पष्ट जवाफ मागेको उनले बताए ।
सन् १८१६ को सुगौली सन्धिबाट नै नेपालको पश्चिमी सीमा काली नदी ठहरिएको ऐतिहासिक तथ्य कुनै विवादको विषय बन्नै नसक्ने उनले बताए । ’ काली नदीको उद्गम लिम्पियाधुरा हो र यही नदी नेपालको पश्चिमी सीमा हो । यो दस्तावेजलाई इतिहासले अमिट बनाइसकेको छ,’ सांसद पराजुलीले भने ।
इतिहास, विभिन्न तथ्य र भूगोलले नै लिम्पियाधुरासम्म नेपालको आफ्नो भूभाग रहेको प्रमाणित हुने उनले बताए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार