Listen LIVE

यू–१९ महिला विश्वकप : नेपाल बंगलादेशसँग ५ विकेटले पराजित

काठमाण्डौ : आइसीसी यू–१९ महिला टी २० विश्वकप क्रिकेट प्रतियोगितामा नेपालले खराब सुरुवात गरेको छ।

शनिबार मलेसियाको बांगीमा भएको डेब्यू खेलमा नेपाल बंगलादेशसँग ५ विकेटले पराजित भएको हो।

नेपालले दिएको ५३ रनको सामान्य लक्ष्य बंगलादेशले १३.२ ओभरमा ५ विकेट गुमाएर भेट्टायो।

बंगलादेशका लागि सदिया इस्लामले सर्वाधिक १६ रन बनाए भने कप्तान सुमैया अक्तरले १२ रन जोडिन्। नेपालकी रचना चौधरी, रिया शर्मा, सिमाना केसी र पूजा महतोले एक एक विकेट लिए।

यसअघि टस हारेर पहिला व्याटिङमा तानिएको नेपाल १८.२ ओभरमा अलआउट हुँदै ५२ रनमा समेटिएको थियो।

नेपालका लागि सना प्रविनले सर्वाधिक १९ रन बनाइन्। सिमाना केसीले १० रन बनाउनुबाहेक अरू खेलाडीले दोहोरो अंकमा रहन बनाउन सकेनन्। एलिसा यादव ४, तिर्सना विश्वकर्मा ३, कप्तान पूजा महतो २ , किरण कुवँर र सावित्रि धामी १–१ रनमा आउट भए।

अनु कडायत र सोनी पाख्रिन शून्यमा पभेलियन फर्किए।

गत डिसेम्बरमा मलेसियामै भएको यू–१९ एसिया कपमा नेपाल बंगलादेशसँग नै हारेको थियो। विश्वकपमा नेपालसहित १६ राष्ट्रको सहभागिता छ।

नेपालले माघ ७ गते स्कटल्याण्डसँग र माघ ९ गते अष्ट्रेलियासँग खेल्नेछ। अष्ट्रेलिया र बंगलादेश दुबै नेपाल भन्दा बलिया टिम हन्।

प्रतिक्रिया