नेपालगञ्ज : नेपालगञ्ज म्याराथनले मलेसियाको स्कोर म्याराथनसँग सहकार्य गर्ने भएको छ । मलेसिया र सिङ्गापुरमा रनिङ इभेन्ट सञ्चालन गर्दै आएको स्कोर स्पोट्र्स म्यानेजमेन्ट र नेपालगन्ज म्याराथनबिच आपसी भाइचारा स्थापित गर्न संस्कृति विज्ञता सहितको सहयोग आदानप्रदान गर्ने सम्झौता भएको हो ।
नेपालगञ्ज म्याराथनका रेस डाइरेक्टर चन्द्रबहादुर गुरुङले कोर म्याराथनका आयोजक स्कोर स्पोट्र्स म्यानेजमेन्टका संस्थापक एवं सिईओ प्याट्रेसिया टेन र नेपालगञ्ज म्याराथनका संस्थापक एवं अध्यक्ष टीएस ठकुरीले सम्झौता पत्रमा हस्ताक्षर गरेको जानकारी दिए ।
पहिलो चरणमा पाँचवर्षका लागि सम्झौता गरिएको र यसलाई आवश्यक परिमार्जनसहित समयावधि थप्दै जाने सहमति भएको नेपालगन्ज म्याराथनका संस्थापक एवं अध्यक्ष ठकुरीले बताए ।
उनी विश्व दौडको साझा संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस(एम्स)को नेपालका लागि दूत पनि हुन् । उनले भने,–‘मलेसियाको शीर्ष तीनभित्र पर्ने स्कोर म्याराथन वल्ड क्लास रोड रेस लेवल मान्यता प्राप्त म्याराथन हो, चालिस हजार भन्दा बढीले भागलिने गर्छन् । यो सम्झौताले नेपाली धावक, अफिसियल, भोलन्टियर लगायतलाई विश्व स्तरीय म्याराथनबाट अनुभव बटुल्ने, नयाँ केही सिक्ने अवसर अवश्य प्राप्त हुने छ । हामी धेरैभन्दा धेरै युवालाई अन्तर्राष्ट्रिय एक्सपोजर दिलाएर नेपालको म्याराथन तथा समग्र खेलकुदका लागि दक्ष जनशक्ति उत्पादन गर्ने हाम्रो अभियान हो ।’
यो सम्झौताले नेपालका रनिङ इभेन्टहरूको अन्तर्राष्ट्रिय बजारमा प्रचार प्रसार हुने र नेपालमा पर्यटक भित्रयाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । सम्झौता अनुसार नेपालगञ्ज म्याराथनको सिफारिसमा खेलाडी, अफिसियल, भोलन्टियर लगायतलाई मलेसिया र सिङ्गापुरमा हुने स्कोर म्याराथनका सिरिजमा दर्ता र आतिथ्यतालगायतका सुविधा प्रदान गरिने छ भने स्कोर म्याराथनलाई नेपालगञ्ज म्याराथन सिरिजमा सोही सुविधाप्रदान गरिने उल्लेख रहेको अध्यक्ष ठकुरीले जानकारी दिए ।
एघार वर्षदेखि सञ्चालन हुँदै आएको नेपालगञ्ज म्याराथनको भगिनी इभेन्टका रूपमा नेपालगञ्ज १० नाइट रन, गौघाट ग्रीन रन, राप्तीसोनारी नेचर रन, कर्णाली हाफ म्याराथन र काठमाण्डौं २५ के हेरिटेज रेस रहेका छन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार