Listen LIVE

१०६ वर्षीय वृद्धको नेपालगञ्जमा हड्डीको सफल शल्यक्रिया

नेपालगञ्ज : स्वास्थ्य उपचारका लागि पश्चिम नेपालकै हव मानिने नेपालगञ्जमा १०६ वर्षीय एक वृद्धको जटिल खालको शल्यक्रिया सफलतापूर्वक समपन्न भएको छ । नेशनल अर्थोपेडिक अस्पताल नेपालगञ्जमा सल्यान वनगाड कुपिण्डे नगरपालिका–७ साँग्रेका १०६ वर्षीया पदमबहादुर शाहको भाँचिएको हिपको हड्डीको शल्यक्रिया सफलतापूर्वक गरिएको हो । 

हिपको हड्डी भाँचिएको शल्यक्रिया जटिल नभए पनि १०६ वर्षका वृद्धको हिपको हड्डी भाँचिएको शल्यक्रिया गर्नुपरेकोले उमेरका हिसाबले सो शल्यक्रिया निकै जटिल बनेको नेशनल अर्थोपेडिक अस्पतालका सञ्चालक अर्थोपेडिक सर्जन डा.सैयद सद्दामले बताए । उनले थपे, “उमेरका हिसावले यो एकदमै जोखिमपूर्ण अवस्थाको शल्यक्रिया हो, हाम्रो टिमले अत्यन्तै सावधानीपूर्ण तरिकाले सफलतापूर्वक शल्यक्रिया गरयो । एकदमै खुशी लागेको छ ।“

डा. सद्दामले उमेरका कारण खाटबाट खस्दा शाहको हिपको हड्डी भाँचिएको जनाउँदै यति धेरै उमेरमा सो शल्यक्रिया गरिनु र सफल हुनु आफैंमा उल्लेखनीय कार्य भएको बताए । उनका अनुसार सम्भवतः यो उमेरमा यसखालको शल्यक्रिया नेपालगञ्जका कुनै पनि अस्पतालमा अहिलेसम्म भएको छैन ।

१०६ वर्षीया पिताको हिपको हड्डी भाँचिएपछि उपचार नै नहुने जस्तो देखेर आफूहरु निकै दुखी भएको बेला नेपालगञ्जमा उहाँको सफल शल्यक्रिया भएपछि पूरा परिवार खुशी भएको शाहलाई अस्पताल लिएर आएका उनका ८७ वर्षीय छोरा भूपेन्द्रबहादुर शाहले बताए । उनले शल्यक्रियापछि पिताको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको जनाउँदै नेशनल अर्थोपेडिक अस्पतालप्रति आभार व्यक्त गरे ।  

८७ वर्षका छोरा १०६ वर्षका बुबाको कुरुवा बसेको देख्दा आफूलगायत अस्पतालको सम्पूर्ण टिम निकै उत्साहित बनेको र यसबाट पिता र छोराको अटुट माया र सम्बन्ध पनि उजागर भएको शल्यक्रियाको नेतृत्व गर्ने अर्थोपेडिक सर्जन डा. सद्दामले बताए । उनले ८७ वर्षका छोराको आँसु र आफ्ना बुबाको उपचार गर्ने चाहनाले आफूहरुलाई शल्यक्रिया गर्न थप बल मिलेको बताए । 

१०६ वर्षीया पिताको उपचारका लागि ८७ वर्षीया छोराले चार दिन अस्पतालमा बसेर गरेको सेवा र मिहिनेतबाट अस्पतालका चिकित्सक, कर्मचारी र त्यहाँ रहेका अन्य बिरामी तथा कुरुवाले समेत ठुलो शिक्षा प्राप्त गरेको नेशनल अर्थोपेडिक अस्पताल नेपालगञ्जले जनाएको छ ।

प्रतिक्रिया