Listen LIVE

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस पढाइ सुरु हुने

दाङ : दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस पढाइ सुरु हुने भएको छ । चिकित्सा शिक्षा आयोगले एमबीबीएस पढाइ सञ्चालनको लागि आवश्यक तयारी पूरा गरेको प्रतिष्ठानलाई पहिलो वर्ष ५० सिट सुनिश्चित गरेको हो ।

५० सिटमा ७५ प्रतिशत छात्रवृत्तिमा नाम निकाल्ने विद्यार्थीले एमबीबीएस पढ्न पाउनेछन् । प्रतिष्ठानका रजिस्ट्रार प्राध्यापक श्याम लम्सालले एमबीबीएसका लागि ५० सिट सुनिश्चितता भएको जानकारी दिए ।

प्रतिष्ठानको विकासमा एमबीबीएस पढाइ महत्त्वपूर्ण कोसेढुङ्गा साबित हुने बताए । एमबीबीएस पढाइ सञ्चालनका निम्ति सहयोग गर्ने सबैलाई लम्सालले धन्यवाद दिए । “एमबीबीएस पढाइ सञ्चालन गर्ने कुरा धेरै महत्त्वपूर्ण कुरा हो, दाङसहित सिङ्गो प्रतिष्ठानको शैक्षिक कार्यक्रममा कोसेढुङ्गा साबित हुनेछ”, उनले भने ।

प्रतिष्ठानले करिब ७ वर्षपछि एमबीबीएस पठनपाठनका लागि आयोगबाट अनुमति पाएको हो । हाल प्रतिष्ठानमा बीएस्सी र बीएनएस नर्सिङ र चिकित्सकको एमडीको पठनपाठन चालु अवस्थामा रहेको छ ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस कार्यक्रम सुरु गर्न निर्देशन दिएका थिए ।

एमाले महासचिव शङ्कर पोखरेलले पनि एमबीबीएस पठनपाठन सञ्चालन गर्न आफ्नो तर्फबाट पहल गरेका थिए । महासचिव पोखरेलकै अगुवाइमा प्रधानमन्त्री, अर्थमन्त्री, स्वास्थ्यमन्त्री, शिक्षामन्त्री, मन्त्रालयका सचिव र चिकित्सा शिक्षा आयोगका उपाध्यक्षसहित पदाधिकारी, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा। विकास लामिछाने, रजिस्ट्रार प्राध्यापक श्याम लम्सालसहितको सहभागितामा बैठक बसेको थियो ।

प्रधानमन्त्रीले तत्कालै आवश्यक बजेट व्यवस्था गरेर दुवै प्रतिष्ठानमा एमबीबीएस लगायतका शैक्षिक कार्यक्रम अगाडि बढाउन निर्देशन दिएपछि काम तीव्र रूपमा अघि बढेको थियो ।

प्रतिक्रिया