Listen LIVE

अन्तर्राष्ट्रिय टी–२० : मलेसियाविरुद्धको दोस्रो खेलमा नेपाल विजयी

काठमाण्डौ : नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले मलेसियाविरुद्धको पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय शृंखलामा दोस्रो खेलमा शानदार कमब्याक गर्दै ६ विकेटको सहज जित हासिल गरेको छ । यससँगै शृंखला १–१ को बराबरीमा पुगेको छ ।

वायुमास ओभल मैदानमा शनिबबार भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ४ विकेट गुमाउँदै ९१ रनको मध्यम स्कोर बनायो । मलेसियाका लागि स्टार ब्याटर आयना हमिजाले अविजित ५० रनको शानदार पारी खेलिन्, जसले टिमको स्कोरलाई सम्मानजनक बनाइन् ।

कप्तान विनिफ्रेड दुरासिंघमले १५ रनको योगदान दिइन् । तर, नेपाली बलरहरूले कडा लाइन–लेंथ कायम राख्दै मलेसियालाई दबाबमा राखे । सोमु विष्टले २ विकेट लिँदै उत्कृष्ट प्रदर्शन गरिन् भने कविता कुँवरले १ विकेट हात पारिन् ।

जवाफमा नेपालले ९२ रनको लक्ष्यलाई १६.२ ओभरमा मात्र ४ विकेटको क्षतिमा पु¥यायो । शून्य रनमा नै दुई विकेट गुमाएको अवस्थाबाट टिमलाई पूजा महतो र रुबी पोद्दारले उकासिन् । पूजाले सर्वाधिक ३९ रन बनाउँदै आक्रामक ब्याटिङ गरिन् भने रुबीले १५ रन थपिन् ।

तेस्रो विकेटका लागि उनीहरूको ४३ रनको साझेदारीले नेपाललाई बलियो आधार दियो । पूजाको आउट भएपछि कप्तान इन्दु बर्माले २७ रनको अविजित पारी खेल्दै टिमलाई जितसम्म पुर्याइन् । पूजा र इन्दुबीचको ३७ रनको साझेदारी निर्णायक साबित भयो ।

मलेसियाली बलर आयना हमिजाले २ विकेट लिँदै संघर्ष गरिन् भने नुर दानिया स्युहादा र नुर आलियाले समान १–१ विकेट लिए । तर, नेपाली ब्याटरहरूको संयमित र आक्रमक खेलले मलेसियालाई कुनै मौका दिएन ।

यसअघि पहिलो खेलमा नेपाल ३ रनले हारेको थियो । दोस्रो खेलको जितले नेपाली टोलीको मनोबल उच्च बनेको छ । अब तेस्रो खेल आइतबार नै हुने भएकाले नेपालले शृंखलामा अग्रता लिने लक्ष्य राखेको छ ।

प्रतिक्रिया