Listen LIVE

‘मिसेस टुरिजम क्विन इन्टरनेशनल–२०२५’ : डा.सुमी मल्लले जितिन् दुई अवार्ड

काठमाण्डौ : हाउस अफ फेसन नेपालले गत फागुनको पहिलो साता काठमाडौंमा आयोजना गरेको दोस्रो संस्करणको ‘मिसेस भोग नेपाल–२०२५’ डा.सुमी मल्लले बैंककमा आयोजित एक अन्तर्राष्ट्रिय प्रतियोगितामा दुई उपाधि जितेकी छिन्।

मंगलवार काठमाडौंमा हाउस अफ फेसन नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी गराइए अनुसार गत साता बैंककमा आयोजित ‘मिसेस टुरिजम क्विन इन्टरनेशनल–२०२५’ डा. मल्लले दुई महत्वपूर्ण उपाधि जितेकी हुन्।

वरिष्ठ दन्त चिकित्सकको रुपमा कार्यरत डा.मल्लले उक्त प्रतियोगितामा मिसेस इन्स्पिरेश्नल तथा सेकेण्ड रनर्स अपको उपाधि जित्न सफल भएकी छिन्।

पत्रकार सम्मेलनमा उक्त प्रतिस्पर्धामा जितेको क्राउन लगाएरै प्रस्तुत डा.मल्लले विश्वका विभिन्न २५ देशका प्रतिस्पर्धीहरूसँग प्रतिस्पर्धा गरेर दुई महत्वपूर्ण उपाधि जित्न सफल भएर नेपालको नाम राख्न सफल भएको प्रतिक्रिया दिएकी छिन्।

‘मुख्य उपाधि रसियाकी प्रतिस्पर्धीले जित्नु भयो, त्यो क्षण उहाँको पक्षमा रह्यो, तर नेपाली प्रतिस्पर्धीको रुपमा मैले पनि उत्कृष्ट प्रस्तुति दिन सफल भएँ, मुख्य उपाधि जित्न नसके पनि सेकेण्ड रनर्स अप तथा मिस इन्स्पिरेश्नल (सबैभन्दा प्रेरणादायी) को अवार्ड जित्नु आफैँमा उपलब्धिमूलक रहेको ठानेकी छु’, डा. मल्लले भनिन्।

पत्रकार सम्मेलनमा हाउस अफ फेसनले तेस्रो संस्करणको ‘मिसेस भोग नेपाल–२०२६’ को घोषणासमेत गरेको छ। आगामी जनवरीमा आयोजना हुने उक्त प्रतियोगितामा विवाहित नेपाली नारीहरूले प्रतिस्पर्धा गर्न सक्ने हाउस अफ फेसन नेपालले जनाएको छ।

प्रतिक्रिया