Listen LIVE

खेलकुदका माध्यमबाट पर्यटक भित्र्याउनुपर्छ : मन्त्री चौधरी

झापा : युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलकुदका माध्यबाट पर्यटक भित्र्याउने योजनामा सरकारले काम गरिरहेको बताएका छन्। काँकडभिट्टा खेलमैदानको शनिबार निरीक्षण गर्दै उनले पूर्वीनाकामा रहेको खेलमैदानमार्फत काँकडभिट्टाले नेपालमा पर्यटक भित्र्याउन सक्ने बताए। 

मन्त्री चौधरीले सङ्घीय सरकारले काँकडभिट्टा खेलमैदानको स्तरोन्नतिका लागि चालू आर्थिक वर्ष २०८२/८३ मा रु तीन करोड बजेट विनियोजन गरेको जानकारी दिए। “क्रिक्रेट, फुटबल र भलिबल खेलेर नेपाली खेलाडीले लाखौँलाख आर्जन गरेका थुप्रै उदाहरण छन्”, उहाँले स्थानीय जनप्रतिनिधि, खेलाडी र खेलप्रेमीहरुलाई सम्बोधन गर्दै उनले भने, “दुई ठूला देशको बीचमा छौँ हामी । एसियाली राजमार्ग  निर्माणपछि काँकडभिट्टा खेलमैदानको महत्व अन्तरराष्ट्रिय रुपमा बढेर जानेछ ।”

मन्त्री चौधरीले खेलकुद क्षेत्र मनोरञ्जन, स्वास्थ्य र पर्यटनको माध्यम भएको जनाउँदै देशको पहिचान बढाउन काँकडभिट्टाले उत्पादन गरेका खेलाडीको अतुलनीय योगदान रहेको चर्चा गरे। सरकारले खेलकुद क्षेत्रका लागि अहिले रु छ अर्ब बजेट छुट्याएको उल्लेख गर्दै उनले खेलमैदान स्थानीय तह र प्रदेशलाई हस्तान्तरण गर्ने तयारी भइरहेको जानकारी दिए।

काँकडभिट्टा खेलमैदानले चर्चेको जग्गा ग्रामीण आवास कम्पनीको भएको विषयमा मन्त्री चौधरीले छिटोभन्दा छिटो खेलमैदानको जग्गा स्थानीय तहको स्वामित्वमा ल्याउनुपर्ने बताए। उनले खेलमैदानको जग्गाको स्वामित्व पालिकाको नाममा ल्याउन र त्यसको पूर्वाधार विकासमा सघाउन सरकार तयार रहेको बताए।

प्रतिक्रिया