भैरहवा : छ वर्षअघि लुम्बिनीमा सञ्चालनका लागि ल्याइएको प्रदूषणरहित सवारीसाधन थन्किएका छन् । ती सवारीसाधन ल्याइँदा यहाँका स्थानीय उत्साही थिए । लुम्बिनीमा आउने पर्यटकका लागि यात्रा सहज हुने र पर्यटकको आकर्षण थप बढ्ने स्थानीयको अपेक्षा थियो ।
शान्तिका दूत गौतम बुद्ध जन्मिएका स्थानमा प्रदूषणरहित यातायातको 'हरियो सपना' पनि देखाइएको थियो । त्यो सपना करिब छ वर्षसम्म धुलो, घाम र वर्षाले थिचिएर रह्यो । तर अहिले सरकार फेरिएसँगै ती हरिया बस चलाउने पहल थालिए पनि सार्थक हुन सकेको छैन ।
एक साताअघि एउटा बस लुम्बिनीबाट भैरहवा हुँदै बेलहिया र अर्को बस लुम्बिनीबाट तिलौराकोट र कुदान रुटमा चलाइएको थियो । चैत १८ र १९ गते दुई दिन चलेका विद्युतीय बस शुक्रबारदेखि चल्न छाडेको लुम्बिनी विकास कोषका सूचना अधिकारी राजन बस्नेतले बताए । अहिले लुम्बिनीमा छ वर्षसम्म थन्किएका पाँच वटै विद्युतीय बस गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राखिएको छ ।
२०७७ साल मङ्सिर ९ गते एसियाली विकास बैङ्क -एडिबी) को अनुदान सहयोगमा 'क्लिन इनर्जी प्रोजेक्ट' अन्तर्गत पाँच वटा अत्याधुनिक विद्युतीय बस र १४ वटा भ्यान लुम्बिनी ल्याइएको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विक्रम संवत् २०७९ जेठ १२ गते लुम्बिनी विकास कोषलाई ती विद्युतीय सवारी हस्तान्तरण गरेको थियो । करिब १३ करोड रुपैयाँबराबरका यी सवारीसाधनले बुद्ध जन्मस्थल लुम्बिनीलाई प्रदूषणमुक्त बनाउने र पर्यटकलाई सहज यात्रा सेवा दिने लक्ष्य राखिएको थियो ।
ती योजना बर्षौंसम्म कागजमै सीमित रह्यो । सवारी ल्याइए तर सञ्चालनको स्पष्ट कार्यविधि बनेन । सुरुमा सेतो नम्बर प्लेटको विवाद आयो । सरकारी प्लेट भएका सवारीले पर्यटक बोक्न मिल्छ कि मिल्दैन ? भन्ने प्रश्न उठाइयो । त्यसपछि कार्यविधि नबन्दा सवारीसाधन प्रयोगविहीन बने । कहिलेकाहीँ सरकारी निर्देशन आउँदा दुई–चार दिन चलाइन्थ्यो, फेरि थन्क्याइन्थ्यो । खुला आकाशमुनि बर्सौंदेखि थन्किएका बस र भ्यान घामपानीले चल्नै नसक्ने अवस्थामा छन् । अधिकांश बसका एसी बिग्रिसकेका छन् । झ्याल खोल्न नमिल्ने संरचना भएका ती बस एसीबिना चलाउनै कठिन छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार