Listen LIVE

लुम्बिनीका किसान व्यवसायिक मकै–जौ खेतीतर्फ आकर्षित

नेपालगञ्ज : कृषि उद्योगका लागि आवश्यक कच्चा पदार्थ उत्पादन बढाउने उद्देश्यले व्यवसायिक मकै तथा जौ खेतीसम्बन्धी ६ दिने तालिम बाँकेको खजुरामा सम्पन्न भएको छ । कृषि व्यवसाय प्रवद्र्धन सहयोग तथा तालिम केन्द्र खजुराको आर्थिक वर्ष २०८२÷०८३ को स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत तालिम आयोजना गरिएको हो ।

तालिम केन्द्रका कृषि प्रसार निर्देशक श्रीधर ज्ञवालीले मकै र जौ उद्योगमा कच्चा पदार्थको माग बढ्दै गएको भन्दै किसानलाई व्यवसायिक उत्पादनतर्फ उन्मुख गराउनु आवश्यक रहेको बताए ।

तालिम संयोजक तथा कृषि प्राविधिक अधिकृत राधिका पौडेलका अनुसार लुम्बिनी प्रदेशका १२ जिल्लाबाट आएका किसानको सहभागितामा तालिम सम्पन्न भएको हो । बजारमा मकै र जौको माग बढेकाले यसलाई व्यवसायिक रूपमा विस्तार गर्नुपर्ने उनको भनाइ छ ।

तालिममा सहभागी किसानहरूले यसले आफूहरूलाई थप दक्ष बनाएको प्रतिक्रिया दिएका छन् । बर्दियाका किसान अर्जन ढकालले तालिमबाट व्यावहारिक सीप र ज्ञान प्राप्त भएको बताए । पाल्पाकी देबी मल्लले उत्पादन वृद्धि गर्ने ज्ञान र आत्मविश्वास बढेको उल्लेख गर्नुभयो । डुडुवा गाउँपालिकाका किसान दिलबहादुर बुढाथोकीले मकै खेतीलाई अझ सुधार गर्न तालिमले सहयोग पु¥याएको बताए ।

तालिममा कृषि अनुसन्धान निर्देशनालयका निर्देशक डा. समिद अहमदसहित कृषि तथा प्राविधिक विज्ञहरूले सहजीकरण गरेका थिए । आयोजकका अनुसार तालिमले किसानलाई व्यवसायिक उत्पादनतर्फ थप प्रेरित गरेको छ ।

प्रतिक्रिया