नेपालगञ्ज : कमनवेल्थ गेम्स २०१० का स्वर्णपदक विजेता केन्याली धावक जोन केलाई नेपालगञ्ज आइपुगेका छन्। धारा नेपालगञ्ज म्याराथनको निमन्त्रणामा उनी नेपालगञ्ज आएका हुन्।
धारा नेपालगञ्ज म्याराथनका संस्थापक टीएस ठकुरी, रेस डाइरेक्टर चन्द्रबहादुर गुरुङ र संस्थापक सदस्य भिम ओलीले जोनलाई स्वागत गरे।
धारा नेपालगञ्ज म्याराथनकै भगिनी रनिङ इभेन्ट गौघाट ग्रीन रनमा अतिथि धावकका रुपमा सहभागी हुन उनी नेपालगन्ज आएको रेस डाइरेक्टर चन्द्रबहादुर गुरुङले जानकारी दिए। धावक जोन केलाईले स्कुले धावकहरुलाई हौसला बढाउन सँगसँगै दौडनेछन्।
धावक केलाई सन् २००३ देखि २०१० सम्म विश्वप्रतिष्ठित मुम्बई म्याराथन (भारत), इन्सेद म्याराथन (नेदरल्याण्ड्स), टोरन्टो वाटरफ्रन्ट म्याराथन (क्यानडा), सिंगापुर म्याराथन, ब्रसेल्स म्याराथन (बेल्जियम)का विजेता हुन्।
बढ्दो तापक्रमका कारण विश्व पर्यावरणमा परेको नकारात्मक प्रभावका बारेमा ससाना बालबालिकालाई जानकारी गराउँदै प्लास्टिकरहित हरियाली गाउँ निर्माण गर्ने उद्देश्यले गौघाट ग्रीन रन गत वर्षदेखि खजुराको सितापुरमा सुरु गरिएको हो।
असोज २८ गते मंगलबार बिहान ७ बजे हुने गौघाट ग्रीन रनमा खजुरा पालिकाअन्तर्गतका विद्यालयबाट छात्र एवं छात्रा तथा खुल्ला छात्रछात्रा गरी चार विधामा स्पर्धा हुनेछ। यसपटक एक सय जनाले भाग लिने रेस डाइरेक्टर गुरुङले बताए।
गतवर्ष ४२ जनाले भाग लिएका थिए। ग्रीन रनमा ऐक्यबद्धता जनाउन मिस नेपाल वल्र्ड २०२३ श्रीच्छा प्रधानसमेत सहभागी हुने आयोजकले जनाएको छ।
मिस नेपाल श्रीच्छाको अध्ययन र रुचिको विषयमा भएको हुँदा ग्रीन रनसँग जोडिएको एम्स दुत धारा नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरीले बताएका छन्। धावक जोन र मिस नेपाल श्रीच्छासँग सोमबार जनप्रतिनिधि, पत्रकार र नागरिक अगुवाको भेट गराइने आयोजकले जानकारी दिएको छ।
धारा नेपालगञ्ज म्याराथनको ११औं संस्करण यही मंसिर ६ गते शनिबार हुनेछ। यसका लागि दर्ता खुला गरिसकिएको छ। यसपटक धारा नेपालगञ्ज म्याराथनमा प्रदर्शनका आधारमा खेलाडी तथा अन्य भूमिकामा रहेका व्यक्तित्वलाई विभिन्न अन्तर्राष्ट्रिय एक्सपोजर दिने तयारी गरिएको छ।
यसका लागि वल्र्ड क्लास रनिङ इभेन्ट बाङ्सेन रनिङ सिरिज (थाइल्याण्ड)सँग औपचारिक सम्झौतासमेत भएको छ। साथै अन्य म्याराथन आयोजकसँग यस्तै सहकार्यको तयारी अघि बढाइएको एम्स दुत ठकुरीले बताए।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार