Listen LIVE

विश्वकप छनोट : नेपाल आज ओमानविरुद्ध निर्णायक भिडन्तमा

काठमाण्डौ : आईसीसी टी–२० विश्वकप छनोट एसिया–प्यासिफिक क्षेत्रीय फाइनलको तेस्रो खेलमा नेपालले आज घरेलु टोली ओमानविरुद्ध निर्णायक भिडन्त गर्ने तयारी गरेको छ । सुपर–६ चरणमा लगातार दुई खेलमा जित हात पारेको नेपालले आजको खेलमा विजय हासिल गरे तेस्रोपटक विश्वमञ्चमा प्रवेश गर्नेछ ।

हाल नेपाल ६ अंकसहित तालिकाको दोस्रो स्थानमा रहेको छ । आजको खेल जिते नेपालले आगामी वर्ष भारत र श्रीलंकामा आयोजना हुने टी–२० विश्वकपमा आफ्नो स्थान सुनिश्चित गर्नेछ । नेपाल र ओमानबीचको खेल बुधबार नेपाली समयअनुसार राति ८ः४५ बजेदेखि अल अमेरतमा सुरु हुनेछ । ओमानका लागि पनि यो खेल समान रूपमा महत्वपूर्ण छ । ६ अंकसहित शीर्ष स्थानमा रहेको ओमानले नेपाललाई नेट रनरेटमा पछि पार्दै विश्वकप यात्रा पक्का गर्न खोज्दैछ । त्यसैले आजको खेल दुवै टोलीका लागि “जित कि छुट”को अवस्थाको हुनेछ ।

नेपालले यसअघि सुपर–६ को पहिलो खेलमा युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध १ रनले रोमाञ्चक जित निकालेको थियो भने दोस्रो खेलमा कतारलाई ५ रनले पराजित गरेको थियो । ओमानपछि नेपालले सुपर–६ चरणको अन्तिम खेल समाओविरुद्ध खेल्ने तालिका छ ।

नेपालले हालसम्म दुईपटक टी–२० विश्वकपमा सहभागिता जनाइसकेको छ । पहिलोपटक सन् २०१४ मा बंगलादेशमा पारस खड्काको कप्तानीमा नेपाली टोली विश्वकपमा उत्रिएको थियो । त्यसपछि दशक लामो अन्तरालपछि, सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा आयोजित टी–२० विश्वकपमा नेपालले पुनः प्रतिस्पर्धा गरेको थियो, जसमा टोलीको नेतृत्व कप्तान रोहितकुमार पौडेलले सम्हालेका थिए ।

नेपाल आजको खेलमा जित हासिल गर्दै तेस्रोपटक विश्वकपको ढोका खोलेर ऐतिहासिक सफलता हासिल गर्ने लक्ष्यमा छ ।

प्रतिक्रिया