पश्चिम नवलपरासी : पश्चिम नवलपरासीको सुनवलमा बर्डफ्लु संक्रमण पुष्टि भएसँगै सीमा क्षेत्रमा उच्च सतर्कता अपनाउनुपर्ने देखिएको छ । सुनवल नगरपालिका वडा नम्बर १३, सूर्यबस्तीस्थित केसी एकीकृत फर्ममा बर्डफ्लु देखिएपछि त्यहाँका १ सय ९५ वटा ब्रोइलर कुखुरा नष्ट गरिएको छ ।
भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र परासीका वरिष्ठ पशु विकास अधिकृत प्रतिमा बिष्टका अनुसार संकलन गरिएको नमूनाको रिपोर्ट प्राप्त हुँदा संक्रमण पुष्टि भएको हो । जिल्लामा यस्तो संक्रमण देखिएकाले थप फैलन नदिन अहिले प्रभावित क्षेत्रमा निगरानी तीव्र पारिएको उनले जानकारी दिइन् ।
नवलपरासीका भारतीय सीमावर्ती नाकाहरूबाट अवैधरूपमा ब्रोइलर कुखुरा र अण्डा भित्रिने क्रम नरोकिँदा संक्रमणको जोखिम उच्च बनेको छ । खुला सिमानाका कारण हुने अनियन्त्रित ओसारपसारले गर्दा संक्रामक रोगहरू सजिलै भित्रिने भए पनि सम्बन्धित निकायले प्रभावकारी कदम चाल्न सकेका छैनन् ।
स्थानीय किसान र सरोकारवालाहरूले सीमा क्षेत्रमा हुने अवैध आयातलाई पूर्ण रूपमा नियन्त्रण नगरेसम्म जैविक सुरक्षाको जोखिम कायमै रहने बताएका छन् । विज्ञ केन्द्रले पनि सीमा नाकामा कडाइ र पशु क्वारेन्टाइनलाई प्रभावकारी बनाउन आवश्यक रहेको औंल्याएको छ ।
संक्रमण थप फैलिन नदिन र सुरक्षित रहन चिकित्सकहरूले सर्वसाधारण र किसानलाई विशेष अपिल गरेका छन् । वरिष्ठ पशु विकास अधिकृत बिष्टले भनिन, 'अहिलेको अवस्थामा किसानहरूले जैविक सुरक्षाका उपायहरूमा सम्झौता गर्नु हुँदैन । सीमा क्षेत्रबाट ल्याइने पशुपन्छीका कारण गाउँ नै जोखिममा पर्न सक्छ ।'
हाल विज्ञ केन्द्रले प्रभावित क्षेत्र आसपासका फर्महरूमा उच्च सतर्कता अपनाउनुका साथै नियन्त्रणका थप उपायहरू अघि बढाइरहेको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार