नेपालगञ्ज : बाँकेको राप्तीसोनारी गाउँपालिका–२ खोरिया गाउँमा पशुपालन फस्टाउँदै गएको छ । परम्परागत खेती र सामान्य पशुपालनमा सीमित यस गाउँमा अहिले करिब डेढ करोड रुपैयाँको लगानीमा फर्म सञ्चालनमा आएको जननी सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित 'जननी पशुपालन फर्म'ले जनाएको छ ।
ग्रामीण क्षेत्रमा आधुनिक प्रविधिको प्रयोग गरी दुध उत्पादनलाई व्यावसायिक रूपमा विस्तार गरेको हो । सहकारीका व्यवस्थापक गणेशबहादुर खत्रीका अनुसार करिब तीन बिघा जग्गामा फैलिएको यो फर्मले होलिस्टन फ्रिजन र जर्सी जातका दश वटा गाई, हरियाणा जातका पाँचवटा भैँसी, एउटा साँढे तथा करिब १५० वटा बाच्छीबाच्छा र पाडापाडीसहित ठुलो संख्यामा पशु पालन गरिरहेको छ ।
फर्मबाट दैनिक करिब १२० लिटरसम्म दुध उत्पादन भइरहेको खत्रीले बताए । फर्ममा उत्पादन भएको दुध कोहलपुर, नेपालगन्ज, अगैया र शमशेरगन्जजस्ता सहरी तथा बजारमा नियमित रूपमा आपूर्ति हुँदै आएको उनले बताए । गुणस्तरीय दुध उत्पादनका कारण जिल्लाका विभिन्न बजारमा माग पनि बढिरहेको फर्मले जनाएको छ । मासिक करिब दुई लाख ५० हजार रुपैयाँको दुध बिक्री गरेर एक लाख २५ हजार रुपैयाँसम्म आम्दानी गर्ने गरेको खत्रीको भनाइ छ ।
उनले भने, 'ग्रामीण क्षेत्रको प्राकृतिक स्रोत, घाँसे मैदान र वन क्षेत्रको उपलब्धतालाई उपयोग गर्दै सञ्चालनमा आएको फर्मले रोजगारी सिर्जना र स्थानीय आर्थिक चक्रलाई चलायमान बनाउने काम पनि गरिरहेको छ ।' उनका अनुसार हाल फर्ममा सातजना स्थानीयले प्रत्यक्ष रोजगारी पाएका छन्, जसले गाउँमै आयआर्जनको अवसर सिर्जना गरेको छ । व्यवस्थापक खत्रीका अनुसार पशुपालनलाई परम्परागत शैलीबाट बाहिर निकाल्दै आधुनिकमैत्री बनाउने प्रयास भइरहेको छ ।
राप्तीसोनारी गाउँपालिका पशुपालनका लागि उपयुक्त क्षेत्र मानिन्छ । यहाँको जलवायु, घाँसे मैदान र वन क्षेत्रले पशुपालनलाई सहज बनाएको स्थानीय किसान गोर्खु चौधरीको अनुभव छ । जसकारण पछिल्ला वर्षहरूमा धेरै किसानहरू व्यावसायिक पशुपालनतर्फ आकर्षित हुँदै गएको चौधरीले बताए । फर्मले आगामी दिनमा दुध उत्पादन क्षमता बढाउने, पशु संख्या विस्तार गर्ने तथा प्रशोधित दुग्धजन्य उत्पादनतर्फ पनि विस्तार गर्ने योजना बनाएको छ । दही, घिउ र पनिर उत्पादन गर्ने सम्भावनाबारेसमेत अध्ययन भइरहेको जनाइएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार