खजुरा (बाँके) : खजुरा गाउँपालिका ४ सिर्जना टोलका १३ जना विरामी परेका छन् । आफन्तको घरमा पाहुना बनेर गएका उनीहरू एक्कासी बिरामी परेका हुन् । १३ गते राति ८ बजे खाएको पुलाउ, मासु र राजमाले बिरामी परेको उनीहरूले बताए ।
भारतिय सिमा क्षेत्र नजिकबाट ल्याएको कुखुराको मासु खाँदा बिरामी परेको हुन सक्ने अनुमान गरिएको छ । खजुरा ४ एफ गाउँमा आफन्तको घरमा भात खुवाई कार्यक्रममा सहभागी भई घर आएका उनीहरु बिरामी परेका हुन् । एकै परिवारका ७ जना सहित १३ जना विरामी परेका हुन् । जसमा बालबालिका पनि रहेको जनाइएको छ । उनीहरूमा झाडा पखाला, उल्टी, ज्वरो आउने, रिङगटा लाग्ने समस्या रहेको बिरामी राम बहादुर बिष्टले जानकारी दिए ।
खाना गएको ६ जना र घरको लागि पोको बनाएर ल्याएको खाना खाएर अरु थप बिरामी परेको विष्टले बताएका छन् । भात खुवाईमा सहभागी भएका अन्य अरु थप सामान्य बिरामी भएको र उपचारपछि निको भएर घर गइसकेको खजुरा ४ मा रहेको आधारभुत स्वास्थ्य सेवा केन्द्रका इन्चार्ज गेहेन्द्र जैसीले जानकारी दिए । इन्चार्ज जैसीका अनुसार पुलाउ, तरकारी, अचार खाएकाहरुलाई केहि नभएको र कुखुराको मासु खाने जति विरामी परेको उल्लेख गरे ।
बिरामी हुनेहरुमा राम बहादुर बिष्ट, मिना बुढा कुमारी मगर, रियान बिष्ट, आयुषा बिष्ट, हिमराज बिष्ट, मनोज बिष्ट, सिता बुधाछेत्री, लिला वती बिष्ट, खुसी बिष्ट लगायत रहेका छन् । बिरामी परेकाहरुलाई बाँके सिटी अस्पताल खजुरामा उपचार भइरहेको खजुरा गाउँपालिका ४ का वडा अध्यक्ष टेक बहादुर रोका क्षेत्रीले जानकारी दिए ।
खानाको कारण बिरामी परेका बिरामीलाई भेट्न अस्पताल पुगेका खजुरा गाउँपालिका अध्यक्ष डम्बर बहादुर विकले घट्ना बारे आवश्यक अनुसन्धान गर्न सम्बन्धि निकायमा अनुरोध गरेका छन् ।
स्वास्थ्य अवस्था बारे जानकारी लिन खजुरा गाँउपालिकाका उपाध्यक्ष मन्जु मल्ल, वडा नम्बर ४ का वडा अध्यक्ष टेक बहादुर रोकाक्षेत्री, वडा नम्बर ५ का वडाध्यक्ष गरिबे शेख, सामाजिक विकास संयोजक कृष्ण कुमारी पोखरेल, वडा सदस्य रितु गिरी, स्वास्थ्य शाखा प्रमुख लक्ष्मी केसी ओली लगाएतको टोली अस्पताल पुगेका थिए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार