दाङ : दाङको राप्ती गाउँपालिका–७ निवासी रणप्रसाद सुवेदीले छ बिघा जमिनमा व्यावसायिक केरा खेती गर्दै आएका छन् । अन्य कृषि बालीको तुलनामा कम मेहनतमै राम्रो आम्दानी लिन सकिने भएकाले विगत तीन वर्षदेखि व्यावसायिक केराखेतीमा जोडिएका हुन् ।
केरा खेतीका लागि उपयुक्त वातावरणसँगै बजारको पनि समस्या नदेखिएकाले धान खेती हुने जमिन मासेर केरा खेतीमा लागेको उनले बताए । थोरै लगानीमा पनि एक्लै गर्न सकिने र रोपेपछि लामो समयसम्म आम्दानी लिन सकिने भएकाले केरा खेतीमा लागेको उनले बताए । सुवेदी जस्तै राप्ती गाउँपालिका–७, सिसहनिया निवासी विद्याबहादुर चौधरीले विगत चार वर्षदेखि केरा खेती गर्दै आएका छन् । तीन बिघा जग्गा भाडामा लिएर व्यावसायिक केरा खेतीमा लाग्नुभएका चौधरीले वार्षिक १३÷१४ लाख बराबरको केरा बिक्री गर्दै आएका छन् ।
अन्य कृषि बाली जस्तो जोखिम नहुने र परिवारसँग घरमा बसेर राम्रै आम्दानी गर्न सकिने भएकाले केरा खेतीबाट सन्तुष्ट रहेको र आगामी दिनमा केरा खेतीलाई बढाउँदै लैजाने उनको तयारी छ । भारतबाट आउने केराले स्थानीय व्यवसायीलाई असर गर्ने गरे पनि जिल्लामा थोरै उत्पादन हुने गरेकाले अझै त्यो खालको समस्या बेहोर्नु नपरेको उनको भनाइ छ ।
जिल्लाको दाङ उपत्यकाभन्दा देउखुरी क्षेत्रमा केरा खेतीका लागि माटोसँगै सिँचाइको व्यवस्था भएको र थोरै खेतीबाट राम्रो आम्दानी लिन सकिने भएकाले पछिल्लो समय व्यावसायिक केरा खेती गर्नेको सङ्ख्या बढ्दै गएको कृषि ज्ञान केन्द्र दाङका कृषि अर्थविज्ञ पृथ्वीराज लामिछानेले बताए । लामिछानेका अनुसार जिल्लामा ६७० हेक्टर जमिनमा व्यावसायिक केरा खेती हुने गरेको छ । त्यसमध्ये ५३० हेक्टर क्षेत्रफलमा रोपेको केराले वार्षिक चार हजार ५३५ मेट्रिक टन उत्पादन दिने गरेको छ ।
यो उत्पादनले अन्य समयमा बजारको करिब ६० प्रतिशत माग धान्ने गरे पनि चाडपर्वको समयमा बाहिरी जिल्लाकै भर पर्नुपर्ने अवस्था रहेको कृषिविज्ञ लामिछानेले बताए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार