बर्दिया : दसैं र तिहारका समय बर्दिया राष्ट्रिय निकुञ्जको अवलोकन गर्न २ हजार ८ सय ८३ पर्यटक भित्रिएका छन् । तीमध्ये सबैभन्दा बढी आन्तरिक पर्यटक रहेको बर्दिया निकुञ्जले जनाएको छ ।
निकुञ्जका सूचना अधिकारी एवं वरिष्ठ सहायक संरक्षण अधिकृत सरोजमणि पौडेलले सोही अवधिमा नेपाली २ हजार १ सय ९३, विदेशी ५ सय ५८ र सार्कबाट १ सय ३३ जना पर्यटक भित्रिएको जनाए ।
आर्थिक वर्ष ०८१–०८२ मा २८ हजार ६८ जना स्वदेशी तथा विदेशी पर्यटकले अवलोकन गरेका थिए । ०८०–०८१ को तुलनामा २ हजार बढी पर्यटकले अवलोकन गरेका छन् । गत आवमा नेपाली १९ हजार १०, सार्कका १ हजार ५ सय ४० र विदेशी ७ हजार ५ सय १८ जना पर्यटक भित्रिएको निकुञ्जले जनाएको छ । मुख्यतः बाघका लागि प्रख्यात बर्दिया निकुञ्ज स्वदेशी र विदेशी पर्यटकका लागि प्रमुख गन्तव्य हो । बर्दिया टाइगर रिसोर्टका सञ्चालक धर्मराज घिमीरेले राजनीतिक उथुलपुथुलले विदेशी पर्यटकले बुकिङ गरेको ४० प्रतिशत रद्द भएको बताए । ’दसैं, तिहारको मौसम भएका कारण नेपाली पर्यटक सन्तोषजनक छन्,’ उनले भने ।
निकुञ्जको मुख्य प्रवेशद्धार ठाकुरद्वारा हो । पर्याप्त होटल, यातायात लगायतको सुविधाले पर्यटक ठाकुरद्वारास्थित निकुञ्जको मुख्यालय हुँदै प्रवेश गरेका छन् । पर्यापर्यटन विकास मञ्च, बर्दियाका अध्यक्ष कृष्णप्रसाद भट्टराईले सार्क मुलुकका पर्यटक बढेको बताए । उनले भने, ‘अपेक्षाकृत पर्यटक आवागमन कम छ, हिउँदे मौसममा पर्यटक आगमन बढ्ने विश्वास लिएका छौं ।’
अधिकांश पर्यटक बाघ हेरेर फर्कने गरेको अधिकृत पौडेल बताउँछन् । ’बर्दिया निकुञ्जमा १ सय २५ बाघ रहेका छन्,’ उनले भने, ‘१ सय २० हात्ती रहेको अनुमान छ । त्यसैगरी गैंडा ३८ वटा छन् ।’ यीमध्ये कतिपय गैंडा सीमावर्ती भारतको कतरनिया वन्यजन्तु आरक्षमा पुगेका छन् ।
निकुञ्ज आउने पर्यटकले जिप सफारी र पैदल अवलोकन गर्ने गरेका छन् । बर्दिया निकुञ्जबाहिर ३० भन्दा बढी होटल र २० वटा होमस्टे छन् ।
निकुञ्जबाहेक पर्यटकले खाता जैविक मार्गको डल्ला, पत्थरबोझी लगायतका ठाउँको अवलोकन गर्ने गरेको निकुञ्जले जनाएको छ । यसबाहेक यहाँ आउने पर्यटकले निकुञ्ज हातामा रहेको गोही, घडीयाल प्रजनन केन्द्र, थारु संग्रहालय, दृष्टिविहीन गैंडा र समस्याग्रस्त बाघ थुनिएको खोरको अवलोकन गर्ने गरेका छन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार