Listen LIVE

बाँकेका वन क्षेत्रमा अतिक्रमण गरी बनाइएका घरटहरा हटाइए

नेपालगञ्ज : बाँकेको नरैनापुर र राप्तीसोनारी गाउँपालिकामा वन क्षेत्र अतिक्रमण गरी बनाइएका २७ वटा घरटहरा हटाइएको डिभिजन वन कार्यालय बाँकेले जनाएको छ । सो कार्यालयले दिएको जानकारी अनुसार चालु आर्थिक वर्षमा नरैनापुर र राप्तीसोनारीमा चार हेक्टरभन्दा बढी वन क्षेत्र अतिक्रमण गरी बनाइएका २७ घरटहरा हटाइएको छ । 

डिभिजन वन कार्यालयका अधिकृत अजितकुमार कर्णले नरैनापुर–६ स्थित दुर्गामाता सामुदायिक वनमा अतिक्रमण गरी निर्माण गरिएका सात घरटहरा हटाइएको बताए । राप्तीसोनारी–७, मण्डफवा सामुदायिक वन उपभोक्ता समूहमा करिब तीन हेक्टर वन क्षेत्र अतिक्रमण गरी बनाइएका १३ घरटहरा तथा राप्तीसोनारी–९, ढकेरीमा विगतमा रेन्जपोस्ट रहेको करिब एक हेक्टर क्षेत्र अतिक्रमण गरी निर्माण गरिएका सात घरटहरा हटाइएको पनि उनले बताए । 

राप्तीसोनारी–७ स्थित मण्डफवा सामुदायिक वन उपभोक्ता समूहमा करिब तीन हेक्टर वन क्षेत्र अतिक्रमणमा संलग्न १३ जनामाथि मुद्दा चलाइएको डिभिजन वन कार्यालय बाँकेका सूचना अधिकारी वीरेन्द्रकुमार रोकाले बताए । अन्य वन क्षेत्रको अतिक्रमण हटाउने काम भइरहेको उनले जनाए । राप्तीसोनारी–९, ढकेरीमा विगतमा रेन्जपोस्ट रहेको करिब एक हेक्टर क्षेत्र अतिक्रमण गरी निर्माण भएका सात घरटहरा हटाएर हाइटेक नर्सरी निर्माण कार्य भइरहेको डिभिजन वन कार्यालयले जनाएको छ । शमशेरगन्ज सबडिभिजन वन कार्यालयका प्रमुख वरिष्ठ वन अधिकृत सुशील सुवेदीले हाइटेक नर्सरीमा बिरुवा उत्पादन गरिने बताए । 

शमशेरगन्ज सबडिभिजन वन कार्यालय अन्तर्गत राप्तीसोनारी–२, कचनापुर, वडा नम्बर ६ फत्तेपुर र वडा नम्बर ८ महादेवपुरीमा बाढीपीडितका नाममा बढी वन क्षेत्र अतिक्रमण गरिएको जनाइएको छ । राप्तीपारिका क्षेत्रमा बाढीपीडितका नाममा गत लामो समयदेखि वन क्षेत्र अतिक्रमण गर्ने कार्य हुँदै आएकोमा सो रोक्न आवश्यक रहेको स्थानीयको भनाइ छ ।

प्रतिक्रिया