काठमाण्डौ : ’मानो रोपेर मुरी फलाउने दिन’ अर्थात् आज असार १५। कृषकहरुले काम गर्दै दही–चिउरा खाएर मनाउने यो दिन गैरकृषकका लागि भने ‘खाने पर्व’का विकसित हुँदै गएको छ। सांस्कृतिक महत्व बोकेको दही–चिउरा स्वास्थ्य दृष्टिकोणले कस्तो छ? कसले खाँदा फाइदा हुन्छ? कसरी खाँदा स्वास्थ्यलाई लाभ पुग्छ? लगायतका विषयमा पोषणविद् सोफिया उप्रेतीसँग गरेको कुराकानीको अंशः
चिउरा कार्बोहाइड्रेडको स्रोत हो। दहीमा चिउरा मिसाएर खाँदा कार्बोहाइड्रेड, प्रोटिन, क्याल्सियम, पोटासियम र भिटामिन पर्याप्त मात्रामा प्राप्त गर्न सकिन्छ। यही कारण धेरै काम गर्ने दिन अर्थात् असार १५ मा दही–चिउरा खाने प्रचलन चलेको हुनुपर्छ।
असार १५ मा गर्मी पनि बढेको हुन्छ। गर्मीमा धान रोप्दा पसिनाको माध्यमबाट जाने पानीलाई समेत यसले परिपूर्ति गर्ने भएकाले दही–चिउरा खाने चलन बसाएको हुनुपर्छ हाम्रा पुर्खाहरुले। दही–चिउरा चाँडो तयार पार्न सकिने मिठो र पोषिलो खाजा भएकाले पनि कामको चाप भएका बेलाको खाना वा खाजाका रुपमा यसलाई रोजिएको हुनुपर्छ।
दही–चिउरा खान असार १५ लाई नै कुर्नुपर्छ भन्न छैन। अरुबेला पनि दही–चिउरा खाँदा स्वास्थ्यका लागि लाभदायक हुन्छ। यो जुनसुकै उमेर समूहले पनि खान सक्छौं। जुन बेला पनि खान सकिन्छ।
दूध फाटेर बन्ने दहीमा क्याल्सियम, सोडिमय, पोटासियम र भिटामिन पाइन्छ। यसमा शरीरमा फाइदा गर्ने गुड ल्याक्टोब्यासिलस ब्याक्टेरिया समेत हुन्छ। चिउरामा भने कार्बोहाइड्रेड, आइरन र प्रोटिन पाइन्छ।
धानलाई भिजाएर ओखल वा मिलमा कुटेर तयार गरिएको खाद्यपदार्थ नेपाली खाना चिउराको ठूलो महत्व छ। चिउरालाई चोखो खाद्यपदार्थका रुपमा पनि लिइन्छ।
हिजोआज चिनी हालेर गुलियो बनाएर दही खाने चलन छ। चिनी हाल्नुभन्दा सिजन अनुसारका फलफूल केरा, आँप आदि मिसाएर खाँदा उपयुक्त हुन्छ। यसरी खाँदा हामीले थप भिटामिन र खनिज पदार्थ पनि पाउन सक्छौं।
यदि गुलियो बनाएर खाने हो भने पनि प्रकृतिक गुलियो सखर, खुदो मिसाइयो भने स्वास्थ्यका लागि लाभदायी हुन्छ।
हाम्रा विभिन्न पारम्परिक अचार अथवा तरकारीसँग दही–चिउरा खादा अझ पूरक र पोषिलो हुन्छ।
दहीले चिसो लाग्ने भएकाले राति सुत्ने बेलामा खानु हुँदैन भन्ने मान्यता छ। तर, ठिक्कको तापक्रममा राखिएको दही जुन समयमा खाए पनि केही फरक पर्दैन। दही फ्रिजबाट निकालिएको भएमा चाहिँ चिसो लाग्न सक्छ। दहीले कहिल्यै बिरामी पार्दैन, यदि कुनै हानिकारक किटाणुले यसमा प्रवेश पाएका छैनन् भने।
मधुमेह भएका बिरामीहरुले चिनी मिसाएको दही खानु हुँदैन। बजारको दहीमा मिठो बनाउन चिनी हाल्ने प्रचलन छ। त्यसैले सकेसम्म आफ्नो घरमा बनाएको दहीमा चिउरा मिसाएर खाँदा राम्रो। दैनिक खानामा एक कचौरा दही खाँदा स्वास्थ्यका हिसाबले राम्रो मान्न सकिन्छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार