Listen LIVE

बाँकेमा मेयर कप छात्र–छात्रा फुटबल माघ २६ देखि हुने

नेपालगञ्ज : बाँके जिल्ला फुटबल संघको आयोजनामा बाँके जिल्लास्तरीय मेयर कप अन्तर विद्यालय छात्र–छात्रा फुटबल प्रतियोगिता माघको २६ गतेदेखि हुने भएको छ । 

बाँके जिल्ला फुटबल संघले दुई दशकदेखि आयोजना गर्दै आएको प्रतियोगितामा बाँके जिल्लाका विद्यालयहरुको सहभागिता रहनेछ । प्रतियोगितामा करिब ५० विद्यालयको सहभागिता रहने आयोजकले अनुमान गरेको छ ।  

बाँके जिल्ला फुटबल संघको बैठकले माघको २६ गतेदेखि प्रतियोगिता गर्ने निर्णय गरेको हो । संघका अध्यक्ष एवम् अखिल नेपाल फुटबल संघका केन्द्रिय सदस्य भोजराज शाहीको अध्यक्षतामा बसेको बैठकले अन्तर विद्यालय मेयर कप छात्र–छात्रा फुटबल प्रतियोगिताको तयारी तिव्र गतिमा अगाडी बढाउने निर्णय गरेको छ । 

प्रतियोगितालाई सफल बनाउन संघको बैठकले विभिन्न उप–समितिको समेत निर्माण गरेको छ । संघले अनुशासन तथा अपिल उप–समितिको संयोजकमा अनिल केसी, प्राविधिक उप–समितिको संयोजकमा सानु तामाङ, आर्थिक उप–समितिको संयोजकमा श्याम सुन्दर मल्ल, स्वास्थ्य उप–समितिको संयोजकमा दिपेन्द्र घलेलाई जिम्मेवारी दिएको छ । नेपालगञ्ज रंगशालामा हुने प्रतियोगिताबाट बाँके जिल्लाको पुरुष र महिला टिम छनोट गर्ने संघले तयारी गरेको छ । 

प्रतियोगिताबाट छानिएका खेलाडीलाई फागुन महिनामा नेपालगञ्जमा हुने लुम्बिनी कप महिला फुटबल प्रतियोगितामा बाँके जिल्लाको टिमबाट सहभागि गराउने योजना रहेको अध्यक्ष शाहीले बताए । 

उनले भने,‘मेयर कप फुटबल संघको महत्वपुर्ण प्रतियोगिता हो । हरेक वर्ष यसले विद्यालय स्तरबाट नयाँ खेलाडी उत्पादनमा सहयोग गर्ने गरेको छ । यस पटक यो प्रतियोगितालाई हामीले झन विशेष रुपमा लिएका छौं । प्रतियोगिताका उत्कृष्ट महिला खेलाडीले नेपालगन्जमै हुने राष्ट्रियस्तरको लुम्बिनी कप महिला फुटबलमा खेल्ने अवसर पाउनेछन् । प्रतियोगिताबाट छानिएका उत्कृष्ट खेलाडीलाई बन्द प्रशिक्षणमा राखेर प्रतियोगिता खेल्ने अवसर दिनेछौं ।’

यसैगरी प्रतियोगितामा छानिएका उत्कृष्ट पुरुष खेलाडीले पनि जिल्ला बाहिरको टिमसँग मैत्रीपुर्ण खेल खेल्ने अवसर प्राप्त गर्ने शाहीले बताए । 

संघको नेपालगञ्जमा बसेको बैठकले लुम्बिनी कप महिला फुटबलमा बाँके जिल्लाको टिमलाई सहभागि गराउने समेत निर्णय गरेको छ । 

प्रतियोगिताको लागि टिमको तयारीलाई अगाडी बढाउने निर्णय भएको अध्यक्ष शाहीले बताए । बाँके जिल्ला फुटबल टिमको तयारी तथा व्यवस्थापन संयोजकको जिम्मेवारी दिर्घराज आचार्य(कौशल), सदस्यको रुपमा नितु शाह चन्द र नागिन देवी श्रेष्ठलाई दिइएको छ । 

पछिल्लो समय बाँकेमा फुटबलको गतिविधि बढदै गएको बताउँदै शाहीले छिटै ग्रासरुट फुटबल प्रशिक्षण कार्यक्रम, नेपालगञ्ज गोल्ड कप फुटबल, संघको आफनै भवन निर्माण जस्ता कार्यक्रमलाई प्राथमिकतामा राखेर काम गर्ने योजना बनाइरहेको बताए । उनले भने,‘विविध कारणले फुटबलका गतिविधि हामीले सोचे अनुसारको हुन सकेको थिएनन् । तर अहिले बाँकेमा महत्वपुर्ण प्रतियोगिता र कार्यक्रमहरु भैरहेको छन् । यसले फुटबलमा नयाँ आसा र उत्साह जगाएको छ । हामी फुटबलको विकासको लागि आम जनतासँग मिलेर काम गरिरहेको छौं । यस क्षेत्रको फुटबल विकासका लागि संघले दिर्घकालिन योजना बनाएर काम गर्नेछ ।’

प्रतिक्रिया