नेपालगञ्ज : कृषि तथा पशुपंछी विकास मन्त्री रामनाथ अधिकारीले गरीब र निमुखा जनताको जीवनस्तर उकास्ने गरी नवीन सोचका साथ काम गर्न आवश्यक रहेको बताएका छन् ।
नेपाल कृषि अनुसन्धान परिषद कृषि अनुसन्धान निर्देशनालय खजुराको आज निरीक्षण गर्दै मन्त्री अधिकारीले किसानसंग नजिक हुने र उत्पादन वृद्धि गर्ने गरी काम गर्नुपर्ने आवश्यकता औंल्याए । उनले कृषि वैज्ञानिक र प्राविधिकहरुलाई नयाँ नयाँ रोग र समस्या पत्ता लगाउनतर्फ केन्द्रित हुन आग्रह गरे । “कृषि वैज्ञानिक र प्राविधिकहरु कृषि कर्म गर्नेहरुका अभिभावक हो, त्यसैले उहाँहरुसंग निरन्तर साक्षात्कार गर्नुस्,“ मन्त्री अधिकारीले भने–“कृषि सुधार्न तपाईंहरुको अहम भूमिका छ ।“
मन्त्री अधिकारीले कृषि विकासमा देखिएका थुप्रै समस्या सुघार गर्न पर्यत्न भइरहेको बताए । नेपाल कृषि अनुसन्धान परिषद (नार्क) का समस्या चाँडो भन्दा चाँडो व्यवस्थापन गर्ने गरी काम भइरहेको उनले जानकारी दिए । नार्कमा देखिएको जनशक्ति अभावलाई सम्बोधन गर्न नसकिएको स्विकार्दै मन्त्री अधिकारीले यसमा पनि काम भइरहेको बताए ।
नार्क आफैंमा ऐतिहासिक पृष्ठभूमि बोकेको संस्था भएर पनि लथालिङ्ग र विचलित अवस्थामा पुग्नु दुःखद् भएको उनको टिप्पणी छ । मन्त्री अधिकारीले आत्मालोचना, आत्ममूल्यांकन र आत्मसमीक्षा गरेर आ–आफ्नो जिम्मेवारी कुशलतापूर्वक निभाउन कर्मचारीलाई आग्रह गरे ।
कृषि अनुसन्धान निर्देशनालय खजुराका निर्देशक डा. समीद अहमदले हाल दुई स्थान ठाकुरबाबा–३ मिर्चैया बर्दिया र शिवराज–३ सोनवर्षा कपिलवस्तुमा अनुसन्धान केन्द्र विस्तार गरिएको जानकारी दिए । निर्देशक अहमदका अनुसार आर्थिक वर्ष २०७९÷८० देखि निर्देशनालयले लमही–२ केरुनिया दाङमा ’नार्क प्रविधि गाउँ’ संचालन गरिएको छ । उनले जनशक्तिको चरम अभाव व्यहोरिरहेको जानकारी गराए । कृषि वैज्ञानिकसंगै अन्य प्राविधिकको उपलब्धताको अवस्था दयनीय रहेको उनको भनाई छ । यसैगरी खजुरामै रहेको कोसेबाली अनुसन्धान कार्यक्रमको पनि मन्त्री अधिकारीले निरीक्षण गरेका छन् ।
कार्यक्रम संयोजक डा. अनिल पोख्रेलले कार्यक्रमबारे जानकारी गराएका थिए । मन्त्री अधिकारीले नेपालगन्ज दुग्ध वितरण आयोजना कोहलपुरको पनि अवलोकन गरेका छन् । आयोजना प्रमुख दिलिप चौधरीले आयोजनाका बारेमा जानकारी गराएका थिए । मन्त्री अधिकारी आजै विहान कांग्रेस बाँकेका निवर्तमान सभापति किरण कोइराला निवास पनि पुगेका थिए ।
त्यस अवसरमा कांग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेल, लुम्बिनी प्रदेश कार्यसमिति सदस्य दीक्षा कोइराला, सचिव सुधांशु कोइराला, कोषाध्यक्ष यज्ञ बहादुर बस्नेत, क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति पोषण केसी, नेपाल किसान महासंघ बाँकेका अध्यक्ष एवम् कांग्रेस नेता लाहुराम थारु लगायत उपस्थित थिए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार