Listen LIVE

बाँकेमा ‘फिफा फुटबल फर स्कुल’को शुरुवात

नेपालगञ्ज : बाँकेमा आइतबारदेखि ‘फिफा फुटबल फर स्कुल’ कार्यक्रम शुरु भएको छ । भव्य कार्यक्रम बीच नेपालगञ्ज रंगशालामा एन्फा केन्द्रीय अध्यक्ष पंकज विक्रम नेम्वाङ्ग र नेपालगञ्ज नगरपालिकाका मेयर प्रशान्त विष्टले संयुक्तरुपमा एन्फा रेफ्रि रविन्द्र श्रेष्ठलाई बल हस्तान्तरण गरी कार्यक्रम शुभारम्भ गरिएको हो ।

बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीका अनुसार, विद्यालयस्तरका स–साना बालबालिकालाई लक्षित गरी शुरु भएको ‘फिफा फुटबल फर स्कुल’ अभियानमा बाँकेका १५ विद्यालयलाई खेल सामग्रीसँगै प्रशिक्षण दिइनेछ ।

कार्यक्रम देशभरका ७७ जिल्लाका १ हजार ७२ विद्यालयमा सञ्चालन हुनेछ । यसका लागि एन्फाले फिफाबाट प्राप्त ३२ हजार ६ सय ४० वटा एडिडास ब्रान्डका फुटबल वितरण गर्नेछ । एन्फा महासचिव किरण राईका अनुसार यी फुटबलको मूल्य प्रतिगोटा कम्तीमा ५ हजार रुपैयाँ पर्छ । साथै, फिफाले कार्यक्रम सञ्चालनका लागि ५० हजार अमेरिकी डलर बजेट उपलब्ध गराएको छ ।

प्रतिक्रिया