Listen LIVE

लुम्बिनी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी दाङलाई

दाङ : लुम्बिनी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी दाङ जिल्लाले जितेको छ । राष्ट्रपति रनिङ शिल्ड २०८१ को प्रदेशस्तरीय उपाधि दाङ जिल्लाले हासिल गरेको हो । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १७ बेलझुण्डी रङ्गशाला र अरनिको मैदानमा जेठ २३, २४ र २५ सम्म प्रतियोगिता सञ्चालन भएको थियो ।

प्रतियोगितामा प्रदेशका ११ जिल्लाको सहभागिता रहेको थियो । मेडल तालिकामा दाङ जिल्लाले १६ स्वर्ण, १८ रजत र १६ कास्य गरी ५० पदक जित्न सफल भयो ।

आइतबार अबेर सम्पन्न रनिङ शिल्डमा रुपन्देहीले दोस्रो स्थान हासिल गरेको छ । रुपन्देहीले १३ स्वर्ण, ९ रजत र ११ कास्यसहित ३३ पदक प्राप्त गर्यो । साविक बिजेता बाँके यो पटक तेस्रो भएको छ । बाँकेले १२ स्वर्ण, १७ रजत र १७ कास्यसहित ४६ पदक  जित्यो । कपिलवस्तुले ९ स्वर्ण, ५ रजत र ४ कास्यसहित १८ पदक जितेर चौथो भएको छ  ।

बर्दियाले पाँचौं स्थान हासिल गरेको छ । बर्दियाले ६ स्वर्ण, ५ रजत र २५ कास्यसहित ३६ पदक हात पार्दा नवलपरासी छैठौं भएको छ ।  ६ स्वर्ण, ४ रजत र १० कास्यसहित २० पदकमाथि कब्जा जमाएको छ । पाल्पा सातौँ स्थान हासिल गर्दै २ स्वर्ण, १ रजत र ४ कास्यसहित ६ पदक जितेको छ । रुकुम पूर्व आठौं हुँदा २ स्वर्ण, २ कास्यसहित ४ पदक जितेको छ ।

प्रतियोगितामा विधागत रुपमा भलिबल छात्रातर्फ रुपन्देहीकी प्रतिभा चौधरी, एथलेटिक्समा छात्रातर्फ बाँकेकी आरुषी भट्टराई, छात्रतर्फ रुपन्देहीका शुभम बमरेल, कबड्डीमा छात्रातर्फ बर्दियाकी खुसी घर्ती मगर, छात्रतर्फ रुपन्देहीका क्षितिज गैरे उत्कृष्ट खेलाडी घोषित भए ।

लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव तिरनदाज गौतमका अनुसार रोल्पा जिल्लाबाहेक ११ वटै जिल्लाका खेलाडी राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा एक हजार ३ सय बढी खेलाडीले सहभागीता रहेको थियो । उनका अनुसार, प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भलिबलमा महिला, पुरुष, कवड्डीमा महिला पुरुष, एथ्लेटिक्स तथा मार्सल आर्टमा उसु, कराँते र तेक्वान्डो गरी ६ विधाका खेल भएको हो ।

प्रतियोगितामा कक्षा १२ सम्म अध्ययन गर्ने वा १८ वर्ष मुनिका खेलाडीहरु सहभागी भएका थिए । स्थानीय पालिका हुँदै जिल्लामा प्रतिस्पर्धा गरेका तथा जिल्ला हुँदै प्रदेश स्तरीय प्रतियोगितामा प्रतिष्पर्धा गर्दै खेलमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीले अब यही जेठको २८, २९ र ३० गते काठमाडौँको दशरथ रंगशालामा हुने प्रतियोगितामा भाग लिनेछन् ।

प्रतिक्रिया