नेपालगञ्ज : कोहलपुर नगरपालिकाले नगर क्षेत्रभित्र अतिक्रमण गरिएका सार्वजनिक तथा सरकारी जग्गा खाली गर्न १० दिने अल्टिमेटम दिएको छ। सूचनामार्फत नगरपालिकाले अवैध रूपमा कब्जा गरी निर्माण गरिएका घर, टहरा तथा अन्य संरचना हटाउन निर्देशन दिएको हो।
निमित्त प्रमुख प्रशासकीय अधिकृत कर्णबहादुर थापाद्वारा हस्ताक्षरित सूचनामा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट प्राप्त निर्देशनअनुसार वडा नम्बर १ देखि १५ सम्मका क्षेत्रमा रहेका सार्वजनिक तथा निजी जग्गामा गरिएको अतिक्रमण हटाउने प्रक्रिया अघि बढाइएको उल्लेख छ। कोहलपुर–११ स्थित नगर विकास समितिको मातहतमा रहेको क्रिकेट मैदान आसपासका अतिक्रमित क्षेत्रसमेत यस अभियानमा समेटिएको जनाइएको छ।
नगरपालिकाका अनुसार सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने सरकारी नीति तथा मन्त्रिपरिषद्को चैत १३ गतेको बैठकबाट स्वीकृत शासकीय सुधारसम्बन्धी एक सय बुँदे कार्यसूचीअनुसार अतिक्रमण नियन्त्रण र सार्वजनिक जग्गा संरक्षणका लागि यो कदम चालिएको हो। उक्त कार्यसूचीको बुँदा नम्बर ९२ ले डिजिटल अभिलेख तयार गर्ने, निगरानी प्रणाली सुदृढ गर्ने र अवैध कब्जा हटाउने कार्यलाई प्राथमिकतामा राखेको छ।
सूचनामा नयाँ अतिक्रमणमा कडाइका साथ रोक लगाइने र हालका अवैध संरचना आगामी वैशाख २५ गते साँझ ७ बजेसम्म स्वयम् हटाउन आग्रह गरिएको छ। तोकिएको समयभित्र संरचना नहटाएमा वैशाख २६ गते बिहान ६ बजेदेखि नगरपालिकाले आफैँ भत्काउने र अतिक्रमित जग्गा पूर्ण रूपमा खाली गराउने चेतावनी दिइएको छ।
नगरपालिकाले जबर्जस्ती हटाइएका संरचनाको खर्च सम्बन्धित अतिक्रमणकारीबाटै असुलउपर गरिने र प्रचलित कानुनअनुसार थप कारबाहीसमेत गरिने जनाएको छ। उक्त सूचना जिल्ला प्रशासन कार्यालय बाँके, जिल्ला प्रहरी कार्यालय बाँके, इलाका प्रहरी कार्यालय कोहलपुर तथा सबै वडा कार्यालयहरूलाई बोधार्थ गरिएको छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार