नेपालगञ्ज : बाँकेमा भीषण हावाहुरीबाट विद्युतका विभिन्न उपकरणमा एक करोडभन्दा बढीको क्षति भएको छ । नेपाल विद्युत प्राधिकरण नेपालगञ्ज वितरण केन्द्रका अनुसार गत जेठको ७ गते र असार ५ गते आएको भीषण हावाहुरीबाट बाँके जिल्लाका विभिन्न ठाउँमा करिब २८० विद्युतका पोल, पाँच वटा ट्रान्सफर्मर र करिब ५ किलोमिटर लामो तार ढलेर तथा चुँडिएर नष्ट हुँदा एक करोड भन्दा बढीको क्षति भएको हो ।
नेपाल विद्युत प्राधिकरण नेपालगञ्ज वितरण केन्द्रका प्रमुख जगन्नाथ लामिछानेले पहिलो पटक आएको हावाहुरीबाट २५० पोल, चार ट्रान्सफर्मर र करिब तीन किलोमिटर लामो तार ढलेर, चुँडिएर नष्ट हुँदा ८४ लाख रुपैयाँको क्षति भएको तथा पछिल्लो पटक आएको हुरीबाट ३० वटा पोल, एउटा ट्रान्सफर्मर र दुई किलोमिटर लामो तार चुँडिएर नष्ट हुँदा १६ लाख रुपैयाँको क्षति भएको बताए ।
दुई पटकको हावाहुरीबाट एक करोड बढीको क्षति हुनुका विभिन्न स्थानको साथै विद्युत सप्लाई अवरुद्ध भएर धेरै जनताले दुःख समेत पाएको नेपालगञ्ज वितरण केन्द्रले जनाएको छ । हावाहुरीकै कारण विद्युतका उपकरणमा क्षति हुँदा केही स्थानमा हालसम्म समेत विद्युत राम्ररी सप्लाई हुन नसकेको जनाइएको छ । यद्धपी नेपालगञ्ज वितरण केन्द्रले तत्काल नै ठुलो जनशक्ति परिचालन गरेर रातदिन नभनी काम गरेर विद्युत सप्लाई भने छिटै निरन्तर गर्न सफल भएको थियो ।
क्षतिको सम्पूर्ण विवरण नेपाल विद्युत प्राधिकरणको केन्द्रीय कार्यालय पठाएर सो को बजेट माग गरिएको जनाउँदै नेपालगञ्ज वितरण केन्द्रका प्रमुख लामिछानेले अहिले पनि मर्मत सम्भारको काम निरन्तर जारी रहेको बताए । सोही प्रकारले नेपाल विद्युत प्राधिकरण खजुरा उपवितरण केन्द्रका प्रमुख हीरामणि घर्तिमगरले खजुरा क्षेत्रमा पनि धेरै पोलहरूमा क्षति भएको तथा ठाउँठाउँमा तारहरू समेत चुँडिएको जनाउँदै सोही कारणले अहिलेसम्म पनि सप्लाई प्रभावित भइरहेको बताए ।
उता, लुम्बिनी प्रदेश डिभिजन कार्यालय नेपालगञ्जका प्रमुख राजीव सिंहले हावाहुरीले प्रदेशका विभिन्न जिल्लामा भएको क्षति सङ्कलनको काम गरिएको बताए । उनले विभिन्न जिल्लामा क्षति भएका उपकरण मर्मत सम्भार र परिवर्तन गर्ने कार्य चलिरहेको जानकारी दिए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार