दाङ : गढवा गाउँपालिका–५ खजरौटामा आमा समूह गठन भएको तीन वर्ष भयो । मुक्तकम्लरी विकास मञ्चको बालविवाह न्यूनीकरण कार्यक्रमअन्तर्गत गठित आमा समूहले गाउँघरमा हुने हरेक कार्यक्रममा सहभागिता जनाउने गरेको छ ।
समूहका अध्यक्ष आनन्दा यादव ४६ वर्षकी भइन् । उनी आमा समूहमा आबद्ध भएपछि धेरै कुरा सिक्ने अवसर मिलेको बताइन् । बालविवाह न्यूनीकरण, महिला हिंसाको वकालत, प्रजनन स्वास्थ्यका बारेमा हुने छलफलबाट धेरै सिकाइ भएको उनले बताइन् । “समूहमा आबद्ध नहुँदासम्म धेरै कुरा थाहा थिएन । अहिले कानुनी र व्यावहारिक सबै कुरा थाहा भएपछि समाजलाई सचेत बनाउन लागेका छौँ । आमा समूहमार्फत बालविवाह रोकथाम तथा छोराछोरीको उमेर पुगेपछि मात्र विवाह गर्न सुझाव दिने अभियानमा जुटेका छौँ”, उनले भनिन् ।
समूहका सचिव गरिमा बुढाथोकी आफैँले १७ वर्षको उमेरमा भागी बिहे गर्नुभएको थियो । सानो उमेरमा विवाह गर्दा शारीरिक, मानसिक तथा अन्य वृत्तिविकासमा असर पुग्ने अनुभव गरेपछि ३५ वर्षको उमेरमा उनी बालविवाह घटाउने अभियानमा जोडिएकी छन् ।
“सानो उमेरमा बिहे गर्नुहुँदैन भन्ने कुरा उबेला थाहै भएन । बिहे गरियो तर अहिले पछुतो लागिरहेको छ । उमेर पुगेर गरेको विवाहले शारीरिक मानसिक रुपमा परिपक्व हुन पाइने कुरा अहिले मात्रै थाहा भएको छ”, सचिव बुढाथोकीले भनिन, “अचेल गाउँघरमा हुने महिलाहिंसा न्यूनीकरण, बालविवाह रोकथामलगायत विषयमा वकालत गर्ने गरेका छौँ । यसले अहिलेका पुस्ता र अभिभावकलाई सचेत गराउन योगदान पुगेको छ ।” बालविवाह र महिला हिंसा मात्रै होइन समूहले सदस्यलाई बचत गर्न सिकाइ आवश्यक परेका समयमा लगानी गर्ने गरेको छ ।
मुक्तकम्लरी विकास मञ्चका फिल्ड संयोजक ज्ञानु थापाले किशोर अवस्थामा आउने परिवर्तन तथा उत्सुकता मेटाउन बाल क्लब र आमा समूह गठन गरेर काम भइरहेको बताइन् । यी समूहलाई मञ्चले तालिम तथा अन्य कार्यक्रममार्फत सचेतना अभिवृद्धिमा जोड दिइरहेको उनले जानकारी दिइन् । “आमाहरुलाई गाउँघरमा हुने हिंसा घटाउने काममा लगाउने मात्रै होइन उहाँहरुको आयआर्जन वृद्धि गर्न व्यावसायिक तरकारी खेतीका लागि सहयोग गरिरहेका छौँ । पालिकाको कृषि शाखासँग समन्वय गरेर आमा समूहलाई कृषिमा आत्मनिर्भर बनाउने अभियान पनि सँगसँगै अगाडि बढाइरहेका छौँ”, थापाले भनिन् ।
गढवा गाउँपालिकाका उपाध्यक्ष शारदाकुमारी चौधरीले बालविवाह न्यूनीकरणका लागि अन्तरक्रिया, सडक नाटक देखाउने र पालिकाभित्रका वडाका गुरुबा, धामी र महतवालाई सँगै राखेर जनचेतनामूलक कार्यक्रम गर्ने गरेको बताइन् । यसकार्यले बालविवाह र हिंसा घटाउन योगदान पुगेको उनले जानकारी दिइन् । “विद्यालयमा बाल क्लब र गाउँमा आमा समूह गठन गरेर जानकारीमूलक कार्यक्रम भइरहेका छन् । पालिकाले पनि प्रत्येक वर्ष मुक्तकम्लहरी, सीमान्तकृत समुदाय र पछाडि परेका वर्गको उत्थानका लागि कार्यक्रम गर्ने गरेको छ”, उनले सुनाइन् ।
यहाँका आमाहरु आफैँ अभियानमा जुटेपछि महिला हिंसा र बालविवाह घटाउन सहज भएको जानकारहरु बताउँछन् । यहाँका अन्य पालिका र वडाले पनि यस अभियानलाई विस्तार तथा लागू गर्नसके थप सहज हुने समूहमा आबद्ध आमाहरूको विश्वास छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार