Listen LIVE

कर्णाली प्रदेश अस्पतालमा हेलिप्याड निर्माण

सुर्खेत : सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालको छतमा हेलिप्याड निर्माण गरिएको छ । हेलिप्याड निर्माणसँगै दुर्गमबाट आएका बिरामीको उपचार सहज हुने विश्वास लिइएको छ । नेपाली सेनाको उत्तर–पश्चिम पृतना हेड क्वाटर सुर्खेतको समन्वयमा प्राविधिक जाँच तथा परीक्षण उडान गरिएको छ । 

अस्पतालका सूचना अधिकारी उपसचिव अनिता ज्ञवालीले आकस्मिक स्वास्थ्य सेवालाई अझ छिटो, सहज र प्रभावकारी बनाउने उद्देश्यले निर्माण गरिएको हेलिप्याडले अब गम्भीर तथा आकस्मिक अवस्थाका बिरामीको शीघ्र उद्धार तथा समयमै उपचारमा महत्वपूर्ण भूमिका खेल्ने बताइन् । सो भवनको निर्माण व्यवसायीले हस्तान्तरण गरेपछि हेलिप्याड सञ्चालनमा ल्याइने जानकारी उनले दिइन् । 

यसअघि दुर्गम जिल्लाबाट हेलिकोप्टरबाट थप उपचारका लागि प्रदेश अस्पताल ल्याउनुपर्ने बिरामीलाई सुर्खेत विमानस्थल हुँदै एम्बुलेन्सबाट ल्याउनुपर्ने अवस्था थियो । 

सुर्खेतस्थित प्रदेश अस्पतालमा विशेष गरी दुर्गम हिमाली जिल्लाबाट सुत्केरी तथा गर्भवतीलाई हेलिकोप्टरबाट थप उपचारका लागि ल्याउने गरिन्छ । मासिक करिब चार–पाँच जनाको उद्धार हुने गरेको बताइन्छ ।

प्रतिक्रिया