Listen LIVE

सगरमाथाले जित्यो नेशनल स्विमिङ च्याम्पिनसिपको उपाधी

नेपालगञ्ज : नेपालगञ्जमा कात्तिक १४ र १५ गते सम्पन्न भएको दोस्रो नेपालगञ्ज नेशनल स्विमिङ च्याम्पिनसिप २०२५ को उपाधी ललितपुरको सगरमाथा स्विमिङ क्लब जितेको छ ।

नेपालगञ्ज स्विमिङ क्लब बाँकेले आयोजना गरेको प्रतियोगितामा सगरमाथा क्लबले २७२ अङ्क ल्याएर उपाधी जितेको हो । यो जितमा क्लबका अरेक कर्माचार्य एक्लैले सात वटा स्वर्ण र रिजा अवालेले पाँच पदक जिते ।

कर्माचार्य प्रतियोगिताको पुरुषतर्फ उत्कृष्ट र अवाले महिलातर्फको उत्कृष्ट खेलाडीका रुपमा पुरस्कृत भए । उनीहरुलाई जनही पाँच–पाँच हजार नगद रुपैयाँले पुरस्कृत गरिएको थियो । नेपालगञ्ज उपमहानगरपालिकाका नगरप्रमुख प्रशान्त विष्ट, नेपाल पौडी संघका केन्द्रीय अध्यक्ष जगतमान श्रेष्ठ र बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अङ्गुर जिसीले प्रथम ट्रफी हस्तान्तरण गरेका थिए ।

प्रतियोेगिताका प्राविधिक प्रमुख विष्णु खड्का क्षेत्रीका अनुसार ५६ वटा पौडी इभेन्टमा १३५ अङ्क ल्याएर ललितपुरकै जेम्स स्कुल दोस्रो भयो । बाँके कोहलपुरको शिखा एकेडेमी ५२ अङ्कसहित तेस्रो भएको छ । त्यसैगरी, लिटिल एञ्जेल्स स्कुल ललितपुरले ४६, आदर्श माध्यमिक विद्यालय नेपालगञ्जले ३५, कोशी प्रदेशले २०, काठमाडौँको युनिग्लोब स्कुलले ११, स्प्रिङडेल स्कुल नेपालगञ्जले १०, राई स्कुल काठमाडौँले ९, नेपालगञ्ज स्विमिङ क्लब बाँकेले ८ र बागेश्वरी एकेडेमी कोहलपुरले ४ अङ्क ल्याएको क्षेत्रीले जानकारी दिए ।

नेपालगञ्जस्थित रंगशालमा रहेको पौडी पोखरीमा सम्पन्न भएको प्रतियोगितामा देशभरबाट १५० जना खेलाडीको सहभागिता रहेको नेपालगञ्ज स्विमिङ क्लबले जनाएको छ ।

प्रतिक्रिया