दैलेख : दैलेखका विभिन्न क्षेत्रमा परेको असिना पानीले किसानको अन्नबाली नष्ट भएको छ ।
दैलेखको नौमुले गाउँपालिका ३ द्धारी, ठाँटिकाँध गाउँपालिका १, २, ४ र ६ लगायत जिल्लाका विभिन्न क्षेत्रमा परेको असिना पानीले अन्नबाली नष्ट गरेको हो । यहाँका किसानले लगाएको गहुँवाली तथा फलफूल ९० प्रतिशतसम्म नष्ट भएको ठाँटिकाँध गाउँपालिका ४ का स्थानीय मनोरमा बडुवालले बताए । जिल्लाका विभिन्न क्षेत्रमा १ फिटसम्म परेको असिनाले कृषकको ९० प्रतिशत भन्दा बढी अन्नबाली तथा फलफूल नष्ट भएको बडुवालले बताए ।
यस्तै असिना पानीबाट नौमुले गाउँपालिका ३ मा सबैभन्दा बढी क्षति भएको वडाध्यक्ष नरबहादुर पुरीले बताए । किसानले लगाएको अन्नबाली ९० प्रतिशत भन्दा बढी नष्ट भएको अनुमान गरिएको गाउँपालिकाको कृषि शाखाले बताएको छ । किसानले लगाएको गहुँ, जौ, लगायत तरकारी तथा फलफूलमा बढी क्षति भएको कृषि सेवा शाखाकी तुल्सी थापाले बताइन् । क्षतिको एकिन विवरण सङ्कलन गर्न गाउँपालिकाको टोली द्धारीमा रहेको थापाले जानकारी दिइन् ।
असिनाले आफूहरूले लगाएको बाली पूर्णरुपमा नष्ट गरेको नौमुले गाउँपालिका ३ द्धारीका किसान गङ्गाराम सापकोटाले बताए । उनले पाक्ने बेलामा गहुँ, जौ तथा तरकारी पूरै नष्ट भएको बताए । छिनभरमै आँखा अगाडी असिनाले लगाएको बाली नष्ट गरेको अर्का किसान दिपेन्द्र खत्रीले बताए । किसानहरूका लागि असिनाले वर्षेनी दुःख दिने गरेको उनको भनाई छ । विगतका बर्षभन्दा यो बर्ष राम्रो वर्षा भएको र उत्पादनमा वृद्धि हुने भएपछि हर्षित भएका किसान एकाएक असिना पानीले अन्नबाली नष्ट गरेपछि कृषकहरू दुःखी भएका छन् ।
यता ठाँटिकाँध गाउँपालिका अध्यक्ष रक्षबहादुर शाहले असिना पानीबाट भएको क्षतिको विवरण सङ्कलन गरिने बताए । अध्यक्ष शाहले मूल्याङ्कन र अनुगमनका लागि गाउँपालिकाले किसानको बारीमै पुगेर अनुगमन गरिरहेको बताए । आवश्यकता अनुसार असिना पिडित किसानहरूलाई राहत दिने उनले जानकारी दिए ।
असिनासहितको वर्षाका कारण जिल्लाका विभिन्न स्थानमा किसानले लगाएको अन्नबालीमा क्षति पुगेको कृषि विकास कार्यालय दैलेखका प्रमुख दशरथ पाण्डेले जानकारी दिए । प्रभावित किसानहरूको अवस्था बुझ्ने काम भइरहेको र क्षतिको विवरण सङ्कलन गरिने उनले बताए । मौसम प्रतिकूल भएर किसानले लगाएको बाली क्षति भएकाले वास्तविक अवस्था बुझेर आवश्यक सहयोगका लागि पहल गरिने प्रमुख पाण्डेले जानकारी दिए । अहिले विभिन्न स्थानीय तहसँग समन्वय गरेर प्रभावित क्षेत्रको जानकारी लिने काम भइरहेको कार्यालय प्रमुख पाण्डेले बताए । किसानहरूले प्राकृतिक विपद्का कारण कृषिमा बारम्बार क्षति हुने भएकाले राज्यले राहत तथा सहयोग गर्नुपर्ने माग गरेका छन् । लगातार बदलिँदो मौसमका कारण किसानहरू थप चिन्तित बनेका छन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार