Listen LIVE

पहिरो रोक्न अछाममा मुहान व्यवस्थापन गरिँदै

अछाम : सडक डिभिजन कार्यालय अछामले सडकको पहिरो रोक्न पानीका मुहान व्यवस्थापन गर्न थालेको छ । पानीका कारण साँफे–मार्तडी सडक अन्तर्गत पर्ने बाजुराको बुढी गङ्गा नगरपालिका –१ बल्दे अम्कोट सडकमा बर्खाको समय सधैँ पहिरो जाने गरेकोले त्यसलाई रोक्न डिभिजनले मुहान व्यवस्थापन गर्न थालेको हो ।

सडक माथि रहेका पानीका मुहानले बर्खाको समय बल्दे अम्कोट सडकमा पहिरो लगाउने गरेकोले यती बेला त्यहाँ पहिरो जान नदिन यहाँ रहेका पानीका मुहान व्यवस्थापन गर्न थालेको सडक डिभिजन कार्यालय अछामले जनाएको छ ।

बल्दे अम्कोट सडकको माथिबाट बग्ने गरेको पानीले वर्खा पहिरो लगाउने गरेपछि यो वर्ष ती मुहान व्यवस्थापन गर्न थालेको सडक डिभिजन कार्यालय अछामका सुपरभाइजर गोकुल गिरीले बताए ।

उनले भने, “ पानीले बर्खाको समय बल्दे अम्कोट सडकमा सबै पहिरो लाग्ने र त्यसका कारण सडक सधैँ अवरुद्ध हुने गरेकोले यो वर्ष सडकमाथिबाट बग्ने पानीलाई जसरी पनि व्यवस्थापन गर्ने गरी असारको पहिलो हप्ता देखि नै मुहान व्यवस्थापन गर्ने काम भइरहेको छ । ”

बर्खाको समयमा पनि सवारी साधन नियमित मार्तडी चल्ने गरी यती बेला बल्दे अम्कोट सडक  मर्मत  गर्ने काम पनि सुरु भएको सुपरभाइजर गिरीले बताए । साँफे मार्तडी सडक अन्तर्गत पर्ने बल्दे अम्कोट सडक बर्खाको समय सधैँ अवरुद्ध हुने गर्छ । सडक अवरुद्ध भएपछि सदरमुकाम मार्तडी चल्ने सधैँ सवारी सधान बल्दे मै रोकिने गर्छन् ।

यसरी गाडी बल्दे मै रोकिने गरेपछि बर्खाको समय मार्तडीका व्यापारीहरूलाई दैनिक उपभोग्य सामाग्री ढुवानी गर्न निकै समस्या हुने गर्छ । यो वर्ष बर्खामा पनि गाडी मार्तडी नियमित गर्ने गरी अम्कोट बल्दे सडकको विकल्प खोज्ने कार्य भइरहेको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।

जहाँ सम्म अम्कोट बल्दे सडकलाई नै मर्मत गर्दै त्यसैमा यातायातका सवारी साधन सुचारु गर्ने गरी सडक डिभिजनलाई काम गर्न जानकारी दिएका छौ । यदि दैवी प्रकोपका कारण यस सडकमा पर्ने क्षति व्यवस्थापन गर्न सकेन भने त्यसको विकल्प अम्कोट बल्दे वैकल्पिक मार्ग सुचारु गर्ने योजना रहेको जिल्ला प्रशासन कार्यालय बाजुराका प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले बताए ।

प्रतिक्रिया