नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाले प्राकृतिक तथा अन्य विपद्का समयमा समुदायस्तरमै तत्काल उद्धार कार्य सञ्चालन गर्नसक्ने दक्ष जनशक्ति तयार गर्न सुरु गरेको छ । सोही क्रममा उपमहानगरपालिकाका विभिन्न वडाका ११७ जना स्थानीय नागरिकलाई 'आधारभूत खोज तथा उद्धार तालिम' प्रदान गरिएको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले सहरी विपद् तथा भूकम्पीय जोखिम पूर्वतयारी परियोजना -सुपर) अन्तर्गत आयोजित तालिममा उपमहानगरका सबै वडाबाट प्रतिनिधित्व गराइएको जानकारी दिए । विपद् व्यवस्थापनका लागि अत्यन्तै महत्त्वपूर्ण मानिएको सो तालिममा ५९ महिला र ५८ पुरुष गरी ११७ जनाको सहभागिता रहेको थियो । यस जनशक्तिबाट विपद्का समयमा तत्काल उद्धारमा ठूलो सहयोग मिल्ने प्रमुख विष्टले स्पष्ट पारे ।
तालिममा सहभागीहरूलाई आगलागी, बाढी, डुबान तथा भूकम्पपछिको खोज र उद्धारका आधारभूत विधिहरूबारे व्यावहारिक अभ्यास गराइएको थियो । यसका साथै विपद्का शब्दावली, प्राथमिक उपचार, खोज तथा उद्धारमा प्रयोग हुने सामग्रीको सही उपयोग र उद्धार प्रक्रियासम्बन्धी अभ्याससमेत तालिममा समावेश थियो ।
विपद्को पहिलो सामना समुदायले नै गर्नुपर्ने भएकाले स्थानीय स्वयंसेवक तयार गर्ने कार्यलाई प्राथमिकता दिइएको उपमहानगरपालिकाले जनाएको छ । उपमहानगरको विपद् व्यवस्थापन समितिका संयोजक समिरप्रताप सिंहले विपद् हुनासाथ सबैभन्दा पहिले समुदाय नै उद्धारकर्मी बन्नुपर्ने हुँदा स्थानीय स्तरमै स्वयंसेवक तयार गरी आवश्यकता अनुसार तत्काल परिचालन गर्ने योजना बनाइएको बताए ।
तालिममा सहभागी मीरा अधिकारीले यो सिकाइ निकै उपलब्धिमूलक रहेको र विपद्का बेला तत्काल कसरी काम गर्ने भन्ने व्यावहारिक ज्ञान प्राप्त भएको बताइन् ।
युरोपेली युनियनको आर्थिक सहयोगमा नेपालगन्ज उपमहानगरपालिकामा 'सुपर' कार्यक्रम सञ्चालन भइरहेको छ । यस कार्यक्रममा यूएनडीपी, युनिसेफ, यूएन वुमन र एचआईको साझेदारी रहेको छ भने सिडिएम नेपाल र नेपाल रेडक्रस सोसाइटीले प्राविधिक सहयोग गरिरहेका छन् । यो परियोजना लागू भएपछि उपमहानगरका विभिन्न वडाहरूमा विपद् व्यवस्थापनका क्षेत्रमा प्रभावकारी गतिविधिहरू भइरहेको कार्यक्रम संयोजक रूपन ज्ञवालीले जानकारी दिए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार